उपेन्द्र यादवको संसद् छिर्ने दाउ

हिमाल प्रेस १७ पुष २०७९ १४:००
242
SHARES
उपेन्द्र यादवको संसद् छिर्ने दाउ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद् छिर्न रणनीति बनाएका छन्। संसद् छिर्ने रणनीतिअनुसार नै उनले रामसहायप्रसाद यादवलाई पार्टीको संसदीय दलको नेता बनाएको जसपाका नेताहरूको स्वीकारोक्ति छ।

रामसहायप्रसाद यादव संसदीय दलको नेता बनेपछि उपेन्द्र संसद् छिर्नका लागि वातावरण बनेको नेताहरूको टिप्पणी छ। तर यसका लागि अध्यक्ष यादवले थप सफलता प्राप्त गर्नुपर्नेछ। संसद् छिर्ने अध्यक्ष यादवको आकांक्षाका कारण जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई संसदीय दलको नेतामा उम्मेदवार बन्न पाएनन्।

४ मंसिरको चुनावमा अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएपछि धेरैको अनुमान थियो, जसपाको संसदीय दलको नेता संघीय परिषद् अध्यक्ष राई बन्नेछन्। जसपाबाट चुनाव जित्ने नेताहरूमध्ये सुनसरी-१ बाट निर्वाचित राई सबैभन्दा वरिष्ठ थिए।

तर गत बुधबार बारा-२ बाट जितेका रामसहाय यादव निर्विरोध दलको नेता चुनिए। दलको नेता चयन गर्न मनोनयन दर्ताको समयमा राईले उम्मेदवारी नै दर्ता गरेनन्। राईसँगै अन्य आकांक्षी राजकिशोर यादव र नवलकिशोर साहले पनि उम्मेदवारी दर्ता गरेनन्।

जसपाका सांसद सुशीला श्रेष्ठका अनुसार पार्टीभित्र संसदीय दलको नेतामा मंगलबारसम्म पनि आकांक्षीमध्ये राईको सम्भावना बढी थियो। बुधबार स्थिति बदलियो। उनी भन्छिन्, ‘पार्टीको निर्णय हो। सबैको सहमति भएपछि निर्विरोध संसदीय दलको नेता चयन गरिएको हो।’

तर तथ्य भने सुशीलाले भने जस्तो होइन। तथ्य अध्यक्ष यादवको संसद छिर्ने प्रयास हो। जसपाले उपराष्ट्रपतिमा दाबी गरेको छ। अध्यक्ष यादवका अनुसार उपराष्ट्रपति पाएको खण्डमा हाल संसदीय दलको नेता रहेका रामसहायप्रसाद यादवलाई अगाडि बढाइनेछ। राष्ट्रपति र उपराष्ट्रपति फरक भूगोलको भए पनि हुने संवैधानिक व्यवस्थालाई देखाएर जसपाले राष्ट्रपति र उपराष्ट्रपतिमा दुवै पुरुष वा दुवै महिला हुन पनि सक्ने तर्क गरेको छ।

उपेन्द्र उपराष्ट्रपति लिएर रामसहायप्रसाद यादवलाई पठाउने र खाली भएको ठाउँ बारा २ मा आफैँ चुनाव लडेर सत्ता साझेदार दलहरुको साझा उम्मेदवार भएर चुनाव जितेर आफैँ संसदीय दलको नेता बन्न चाहन्छन्।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने व्यवस्था छ। ‘यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’, संविधानमा उल्लेख छ। संविधानको यही व्यवस्थाअनुसार एमालेले पुरुषलाई नै राष्ट्रपति बनाए पनि मधेशी समुदायबाट पुरुषलाई नै राष्ट्रपति बनाउनुपर्ने जसपाको अडान छ। तर यसका लागि सत्ता साझेदार दल तयार हुनुपर्छ।

सत्ता साझेदार दलहरूका बीचमा राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादीले लिने सहमति छ। तर जसपाले उपराष्ट्रपति आफूहरुले पाउनैपर्ने भनेको छ। यसको सीधा कारण- संसदीय दलको नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने र खाली भएको निर्वाचन क्षेत्रमा अध्यक्ष यादव आफैँ उम्मेदवार बन्ने।

उपेन्द्रलाई मधेशमा मात्रै नभएर राष्ट्रिय राजनीतिमै चतुर नेताका रूपमा हेरिन्छ। २०६३ सालको अन्तरिम संविधानप्रति असन्तुष्टि जनाउँदै मधेशमा आन्दोलनको नेतृत्व गरेर यादव राष्ट्रिय राजनीतिमा उदाएका थिए। त्यसयता मधेश र राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्दै आएका उपेन्द्रले यसपटक चुनावकै मुखमा कांग्रेस-माओवादीसहितको गठबन्धन परिवर्तन गरेर एमालेसँग तालमेल गरे।

जसपाले सन्तोषजनक नतिजा निकाल्न सकेन। स्वयं उपेन्द्र सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतसँग पराजित भए। यादवले आफ्नो र पार्टीको पराजयको कारण एमालेसँगको तालमेललाई मानेका छन्।

जसपाका नेताहरूका अनुसार उपेन्द्र उपराष्ट्रपति लिएर रामसहायप्रसाद यादवलाई पठाउने र खाली भएको ठाउँ बारा २ मा आफैँ चुनाव लडेर सत्ता साझेदार दलहरुको साझा उम्मेदवार भएर चुनाव जितेर आफैँ संसदीय दलको नेता बन्न चाहन्छन्। त्यसका लागि उनले अशोक राइलाई रोकेर रामसहायप्रसाद यादवलाई संसदीय दलको नेता बताएको स्वयं नेताहरू स्वीकार गर्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =