ज्ञानेन्द्र कार्कीबाट यसरी धोका पाए कांग्रेसका अर्यालले

विवेक विवश रेग्मी १७ पुष २०७९ ११:४३
536
SHARES
ज्ञानेन्द्र कार्कीबाट यसरी धोका पाए कांग्रेसका अर्यालले

इटहरी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्न चाहन्थे। चार दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय अर्यालको संघीय संसद् बनेर मुलुकको दीर्घकालीन हितमा केही गर्ने सपना थियो। यसअघि एकपटक प्रतिनिधिसभा सदस्य भइसकेका उनी मतदाताबीच पनि ‘लोकप्रिय’ मानिन्थे।

कोइराला परिवारको दबदबा चिर्दै मोरङ कांग्रेसको नेतृत्वसमेत सम्हालिसकेका अर्याललाई पार्टी सभापति शेरबहादुर देउवाको ढाडस थियो। त्यसैले प्रतिनिधिसभा सदस्यमा टिकट पाउनेमा ढुक्क थिए। तर उनलाई सभापति देउवाले प्रदेशको नेतृत्व गर्न भनेपछि अर्याल पछि हटे। मुख्यमन्त्री पाइने आसमा प्रदेश झरेका उनी मोरङ ५ (ख) बाट निर्वाचित भए।

प्रदेशसभा संसदीय दलको नेताको चुनाव हुँदै गर्दा भने अर्याल सभापति देउवाका ‘किचन क्याबिनेट’ का ज्ञानेन्द्रबहादुर कार्कीको सिकार बन्न पुगेका छन्। संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट धोका होला भनेर उनले सोचेका पनि थिएनन्। तर बिहीबार निर्वाचन परिणाम आउँदा उनी छाँगाबाट खसेजस्ता भए।

संसदीय दलको नेतामा पराजित भएपछि अर्याल ‘अलोकप्रिय’ सिद्ध भएका छन् भने उनको राजनीतिक ‘करिअर’मा धक्का लागेको छ। यसो हुनुमा उनै नेता ज्ञानेन्द्रबहादुर कार्कीको भूमिका रहेको अर्यालको आरोप छ।

अर्याललाई प्रदेश १ को मुख्यमन्त्री पाउने आसमा प्रदेशसभाको टिकट दिइएको थियो। प्रदेश १ को ९३ सिटमध्ये २९ सिटमा कांग्रेस निर्वाचित भएको छ।

‘म मोरङ ५ बाट प्रतिनिसिभा सदस्यमा लड्छु र चुनाव जित्ने वातावरण छ भन्दै गर्दा गठबन्धन भएकाले माओवादीलाई टिकट दिनुपर्ने भनियो,’ अर्यालले नेतृत्वको भनाइ सम्झिए, ‘आदरणीय नेता शेरबहादुर देउवाले तिमी यसपटक प्रदेशमा लड्नु र प्रदेशको नेतृत्व गर्नु भन्नुभयो।’

अर्याललाई एक मत प्रस्तावक सोलुखुम्बुबाट सांसद बनेकी डोल्मा तामाङले दिइन्। समर्थक बसेकी सुनसरीबाट समानुपातिक सांसद रहेकी सुनिताकुमारी गुरुङले समेत मत दिइनन्। एक मत आफैँले हालेका थिए। कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा समानुपातिक सांसद उद्धव थापा १८ मत प्राप्त गर्दै निर्वाचित भए। केदार कार्कीले ९ मत प्राप्त गरे भने अर्याल दुई मतमा सीमित भए। थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन्।

‘दाइ म संसदीय दलको नेता लड्दै छु, तपाईंको के छ समर्थन? भनेर सोधेँ। होइन तिमी नै लड्नुपर्छ तिमीले नै दायित्व लिनुपर्छ भन्नुभयो,’ अर्यालले भने, ‘तर पछिल्लो समय आएर उहाँले जनमत छैन छाड्नुपर्ने भयो भन्दै दबाब सिर्जना गर्नुभयो।’

अर्याल प्रस्तावक र समर्थकमध्येबाटै मत नपाउनुको दोष कार्कीले लिनुपर्ने बताउँछन्।

२०७० को संविधानसभा निर्वाचनमा मोरङ ५ बाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका अर्याललाई यसपटक भने गठबन्धनबाट माओवादीले सो क्षेत्रमा टिकट पाउने र मुख्यमन्त्री बनाउने सर्तसहित प्रदेशको टिकट दिइएको थियो। मोरङ-५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भएका छन्।

संसदीय दलको नेतामा निर्वाचित थापाले पनि यसअघि पटकपटक प्रदेशको नेतृत्व गर्न प्रस्ताव गरेको अर्याल सुनाउँछन्। ‘जनताको अभिमतको कदर नभएको महसुस गरेको छु,’ अर्यालले भने, ‘हामी जनताबाट निर्वाचित भएर आएको प्रतिनिधि हौँ। समानुपातिक सांसदलाई प्रधानमन्त्री नै बन्न नपाउने भनेर पनि रोकिएको त छैन तर जनताको अभिमतको कदर भएन।’

उनले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कार्कीसँग आफूले झण्डै दुई दशकदेखि संगत गरे पनि उनी धोकेबाज रहेको आरोप लगाए। आफू संसदीय दलको नेताको निर्वाचन लड्नुअघि उनै कार्कीलाई भेट्नु गल्ती भएको अर्याल बताउँछन्।

‘दाइ म संसदीय दलको नेता लड्दै छु, तपाईंको के छ समर्थन? भनेर सोधेँ। होइन तिमी नै लड्नुपर्छ तिमीले नै दायित्व लिनुपर्छ भन्नुभयो,’ अर्यालले भने, ‘तर पछिल्लो समय आएर उहाँले जनमत छैन छाड्नुपर्ने भयो भन्दै दबाब सिर्जना गर्नुभयो, जनमत सिद्ध गर्ने के छ प्रमाण? को-को मान्छेले भोट हाल्छन् भनेर माग्नुभयो। मैले पनि १८ जनाले मेरो पक्षमा मतदान गर्छन् भनेर सूची दिएँ। तर त्यो सूचीलाई उहाँले ‘मिसयुज’ गर्नुभएछ।’

सोही सूचीका आधारमा कार्कीले प्रत्येक मतदातालाई फोन गरेर दबाब सिर्जना गरेको अर्यालको आरोप छ। ‘यो प्रवृत्तिविरुद्ध कसै न कसैले उभिनैपर्छ। दास बनेर मलाई निर्वाचन जित्नु पनि छैन,’ अर्यालले भने, ‘कांग्रेस पहिलो पार्टी भए पनि सत्तामा नपुग्नुमा उहाँहरूको कारण छ।’

आफ्नो उम्मेदवारी प्रतीकात्मक उम्मेदवारी रहेको उनको भनाइ छ। निर्वाचन हार्छु भनेर चारदिन पहिले नै थाहा भए पनि पार्टीभित्र कांग्रेसलाई बदनाम गराउने प्रवृत्तिविरुद्ध लडाइँ जारी राख्ने उनले बताए। संस्थापन पक्षले नभई प्रवृत्तिले आफूलाई चुनावमा पराजित गराएको उनको टिप्पणी छ।

‘आदरणीय नेता ज्ञानेन्द्र दाइ नितान्त एकांगी, संकुचित र कसैलाई अगाडि बढाउन नखोज्ने मान्छे हुनुहुँदोरहेछ। उहाँको भर परेर गल्ती गरेको रहेछु। उहाँले विश्वास र भरोसा तोड्दै जानुभयो,’ अर्याल भन्छन्, ‘प्रदेश १ का २८ वटा निर्वाचन क्षेत्रमा उहाँको भूमिका निराशाजनक देखियो। हामीले गठबन्धन गर्दा पनि ९ वटा क्षेत्रमात्रै जितेका छौँ।’ भोजपुरमा पटकपटक हार व्यहोरेर सुनसरी झरेका कार्कीले सुनसरी कांग्रेसकै हालत खराब गरेको अर्यालको विश्लेषण छ।

‘सुनसरीकै हालत पनि यति खराब गर्नुभयो उहाँले, चारवटा निर्वाचनक्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्र उहाँले मात्रै जित्नुभएको छ। बाँकी सबै क्षेत्रमा हारेका छौँ,’ उनले भने, ‘पहिला राजीव कोइराला हुँदा तीन क्षेत्रमा जितेको अवस्था थियो, यो एकांगी मनोभावले चल्ने र दबाब सिर्जना गरेर उहाँले गलत गर्दै हुनुहुन्छ।’

‘पार्टीमा एउटै पद केन्द्रीय सदस्य रहँदा आफूभन्दा माथि पुग्छ भन्ने गलत सोचाइका कारण ज्ञानेन्द्र दाइले अमृत दाइलाई अगाडि बढ्न दिनुभएन। ‘आफू सँगैको केन्द्रीय सदस्य प्रदेशको मुख्यमन्त्री भएको कहाँ देख्न सकिन्छ, भएको त्यही मात्रै हो।’

पटकपटक केन्द्रीय सदस्य बनेका अर्यालको हारले प्रदेश १ मा संस्थापन पक्षका नेताहरूमा केही दिनयता बहसको विषय बनेको छ। अर्यालको हारको विषय पार्टीभित्र राष्ट्रिय स्तरमा बहस हुनुपर्ने सुनसरीका एक नेताले बताए।

‘पार्टीमा एउटै पद केन्द्रीय सदस्य रहँदा आफूभन्दा माथि पुग्छ भन्ने गलत सोचाइका कारण ज्ञानेन्द्र दाइले अमृत दाइलाई अगाडि बढ्न दिनुभएन,’ ती नेताले हिमालप्रेससँग भने, ‘आफू सँगैको केन्द्रीय सदस्य प्रदेशको मुख्यमन्त्री भएको कहाँ देख्न सकिन्छ, भएको त्यही मात्रै हो।’

नेता कार्कीले सांसदलाई फोन गरेर दबाब दिनु अत्यन्त निन्दनीय भएको उनको आरोप छ। त्यसो त कार्की सुनसरी आइकन जिल्ला नेतृत्वले नै पनि उनको आलोचना गर्दै आएका छन्। कार्की सुनसरी आउनुअघि यहाँको कांग्रेस एकढिक्का रहे पनि अहिले छिन्नभिन्न रहेको नेताहरूले टिप्पणी छ।

उनले पार्टीको अधिवेशनताका वडा तहदेखि नै आफ्नो अनुकूलका पक्षमा लाग्नेलाई मात्रै ‘च्याप्दै’ आएका छन्। स्थानीय तहको टिकट वितरणदेखि प्रदेश, प्रतिनिधिसभा सदस्यको टिकट वितरणमा पनि उनका भित्रियालाई मात्रै ‘च्याप्दै’ आएको सुनसरी कांग्रेसका नेताहरूको आरोप छ।

अर्यालको राजनीतिक पृष्ठभूमि

अर्यालले नेपाली कांग्रेसको राजनीति गरेको चार दशक भयो। प्रजातन्त्र प्राप्तिका लागि विभिन्न पटक गरी उनले आठ वर्ष जेल जीवन बिताएका छन्। शाही शासनका बेला विराटनगरमा आन्दोलनमा उत्रिँदा प्रहरीले गोलीसमेत प्रहार गरेको थियो।

कांग्रेस मोरङको दुईपटक जिल्ला सभापति बनेका अर्याल कोइराला परिवारको दबदबा रहेको समयमा १९ वर्षदेखि सभापति रहँदै आएका अशोक कोइरालालाई पराजित गर्दै जिल्ला सभापति बनेका थिए। हाल केन्द्रीय सदस्य रहेका अर्याल तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवाले अन्तरपार्टी संघर्ष गर्दादेखि नै देउवासँग नजिक रहँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 2 =