प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- मलेसियामा बन्धक बनाइएका १३ नेपाली नागरिकको उद्धार भएको छ। उद्धार भएकामध्ये ६ जना भोलि (मंगलबार) स्वदेश फर्किँदैछन्।
नेपालबाट मलेसिया गएका नेपालीहरू समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका नेपालीहरूको उद्धार गर्न निर्देशन दिएका थिए।
उनले मुख्यसचिव शंकरदास बैरागीलाई बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरूको अवस्था बुझेर तत्काल रिहाइ र उद्धारको पहल गर्न निर्देशन दिएपछि सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो।
सो पहलपछि मलेसियाको पीआरएस म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ जना नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्। मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ। दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि र १३ जनवरीमा ७ जना नेपाल फर्कने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको छ।


