निर्वाचन सम्पन्‍न गर्न राज्यका सबै संयन्त्रले साथ दिए : प्रमुख आयुक्त थपलिया

हिमाल प्रेस २ पुष २०७९ १९:४५
6
SHARES
निर्वाचन सम्पन्‍न गर्न राज्यका सबै संयन्त्रले साथ दिए : प्रमुख आयुक्त थपलिया

इटहरी– निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा राज्यका सबै संयन्त्रले आयोगलाई साथ दिएको बताएका छन्। शनिबार कर्मचारी मिलन केन्द्र विराटनगरले सुनसरीको शान्ति वनमा आयोजना गरेको अधिवेशन एवम् वनभोज कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सुरक्षा निकाय, कर्मचारी, नागरिक समाज, पत्रकारलगायत सम्पूर्णले निर्वाचन सफल गराउन सक्रियता र इमान्दारिता देखाएको भन्दै थपलियाले धन्यवाद व्यक्त गरे। निर्वाचन आयोगको नेतृत्वदायी भूमिका र कर्मचारीका साथै सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरे।

आफू निजामती सेवामा प्रवेश गरेको ४० वर्ष भएको स्मरण गर्दै कर्मचारी मिलन केन्द्रले आफ्नो इतिहास र परम्परालाई कायम राख्नुपर्ने धारणा राखे। मोरङका प्रमुख निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश दुर्गा ढुंगेलले स्वच्छ, भयरहित र शान्त वातावरणमा आयोगले निर्वाचन सम्पन्न गराएकोमा खुसी व्यक्त गरे।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचन बिनाविवाद, भयरहित वातावरणमा एकै चरणमा सम्पन्न गराएको भन्दै आयोगको प्रशंसा गरे।

केन्द्रका अध्यक्ष टंक गौतमले सामाजिक एवम् रचनात्मक कार्य गर्ने केन्द्रले कोष बढाएर १० लाख रुपैयाँ बनाइएको जानकारी गराए। अधिवेशनले सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =