प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक : तिमिल्सिना

हिमाल प्रेस २९ मंसिर २०७९ २०:३६
4
SHARES
प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक : तिमिल्सिना फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालको शिक्षा प्रणालीलाई विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेस्तरको बनाउनुपर्ने बताएका छन्। नवलपरासीपूर्व नवलपुरको कावासोतीमा रहेको शिव माध्यमिक विद्यालयको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

शिक्षाको गुणस्तर वृद्धि गरी विश्वव्यापी रूपमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने गरी लाग्नुपर्ने उनको भनाइ छ। ‘हामी नेपालको प्रतिस्पर्धी जनशक्तिमात्रै होइन, विश्वको प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नेतर्फ केन्द्रित हुनुपर्छ, यसका लागि गुणस्तरीय शिक्षाको खाँचो छ,’ अध्यक्ष तिमिल्सिनाले भने।

उनले राज्यको ध्यान विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी दिनेतर्फ हुनुपर्ने बताएका छन्। कतै विद्यालयमा विद्यार्थी कम, शिक्षक बढी र कतिपय विद्यालयमा विद्यार्थीको संख्या धेरै र शिक्षक कम भएर राम्रो पठनपाठनमा समस्या हुने गरेको बताउँदै विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम गराउन लाग्नुपर्ने उनले बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शिक्षाको विकासका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे। सामान्यतया एउटा विद्यार्थीलाई प्रारम्भिक चरणदेखि कक्षा १२ सम्म कम्तीमा १२ वर्ष लगानी गरेपछि जनशक्ति तयार हुने बताउँदै यसैअनुसार योजना र लगानी गर्नुपर्ने उनको भनाइ छ।

कावासोतीको शिव माविमा भएको कार्यक्रम राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र मुख्यमन्त्री पोखरेलले विद्यालयको दुईवटा नवनिर्मित भवनको उद्घाटनसमेत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =