काठमाडौँ– चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा ४ खर्ब ७७ अर्ब ९२ करोड रुपैयाँ बराबरको कुल वस्तु व्यापार घाटा भएको छ। यो अघिल्लो आवको यही अवधिको तुलनामा १५.९ प्रतिशतले कमी हो।
चालु आवको चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ। जुन आयात गत आवको पहिलो चार महिनाकोभन्दा १८.१ प्रतिशतले कम हो।
चार महिनामा ५४ अर्ब ७७ करोड रुपैयाँको कुल वस्तु निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको चार महिनाको अवधिमा ३३.३ प्रतिशतले घटी हो। चालु आवको साउन–कात्तिकको अवधिमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष १२.६ प्रतिशत थियो।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ। अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, चिया, तयारी पोशाकलगायत वस्तुको निर्यात बढेको छ। सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको तथ्यांक छ।
त्यस्तै वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपूर्जा लगायतका वस्तुको आयात बढेको छ।
सवारी साधन तथा स्पेयर पार्टपूर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एमएस बिलेट, कच्चा सोयाविन तेललगायत वस्तुको आयात घटेको छ।
सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। जलेश्वर बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट हुने आयातमा कमी आएको छ।

                                             
                                             
                                             
                                             
                                             

