नजिकिँदै ओली र दाहाल, सत्तामा जान एमालेका तीन रणनीति

हिमाल प्रेस २९ मंसिर २०७९ १०:४४
286
SHARES
नजिकिँदै ओली र दाहाल, सत्तामा जान एमालेका तीन रणनीति

काठमाडौँ –  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू  एमाले-माओवादी तालमेलका लागि आफू सकारात्मक रहेको सन्देश पठाएका छन्। प्रचण्डको सन्देशसहित मंगलबार पुगेका महासचिव देव गुरुङलाई एमाले अध्यक्ष ओलीले कम्युनिस्ट एकतामा जोड दिएका थिए।

सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको दाबी गरिरहेका प्रचण्डले ओलीको सन्देश पाएपछि छिट्टै प्रधानमन्त्री हुँदै गरेको सार्वजनिक अभिव्यक्ति दिएका छन्। कांग्रेस प्रधानमन्त्री बनाउन तयार नभएको अवस्थामा एमाले सहकार्यका लागि तयार रहेको सन्देश पाएकै कारण प्रचण्डले छिट्टै प्रधानमन्त्री बन्ने दाबी गरेकाे कतिपयको बुझाइ छ।

निर्वाचनमा बहुमत ल्याउन नसकेपछि समस्या परेको सत्ता गठबन्धनले बहुमत जुटाउने कोसिस तीव्र पारिरहेका बेला एमाले र माओवादीबीच बाक्लिएको संवादलाई गठबन्धन तोड्ने एमाले प्रयासका रूपमा कतिपयले अर्थ्याएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘तपाईंहरूको आशीर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु।’ उनले आफ्नो विगतको प्रधानमन्त्री कार्यकाल पनि सम्झिए। अब के गर्ने भनेर पनि सुनाए। अर्थात् अब प्रधानमन्त्री आफैँ हुनेमा उनी ढुक्क देखिन्छन्। प्रचण्डले पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकताबद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको सुनाए। बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने उनको दाबी छ।

प्रचण्डलाई यसरी ढुक्क देख्नुका पछाडि दुई विषय देख्छन् नेताहरू। पहिलो, गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बन्दैछन्। दोस्रो,  प्रधानमन्त्री नपाए प्रचण्डले गठबन्धन तोड्नेछन्। प्रचण्डले गठबन्धन तोडून् भन्ने एमाले चाहना रहेको स्वय‌ं नेताहरू बताउँछन्। गठबन्धन तोडेमा माओवादीसँग मिलेर सरकार बनाउन एमाले तयार देखिएको  माओवादी बुझाइ छ। यही कारण पछिल्लो समय एमाले र माओवादी केन्द्रका नेताहरूबीच भेटवार्ता बाक्लिएको छ।

प्रतिनिधिसभामा एमालेको ७८ र माओवादीको ३२ सिट छ। नेकपा एकीकृत समाजवादीको १० सिट छ। स्वतन्त्र निर्वाचित ५ जनामा पनि ३ जना कम्युनिस्ट समर्थित छन् । यसमा साना केही दल मिलाउँदा सरकार बनाउन सकिने एमाले नेताहरूको हिसाबकिताब छ। त्यसैले माओवादी गठबन्धन छोड्न तयार हुनुपर्ने सर्त एमालेले राख्दै आएको छ।

यही बुझेर निर्वाचनको परिणाम नआउँदै एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए। उनीहरूबीच नयाँ सरकार गठनबारे पनि छलफल भएको थियो। शीर्ष नेताको यो संवादपछि दुवै दलका दोस्रो तहका नेताहरू भेटवार्तामा जुटिरहेका हुन्। यसमा एमाले नेताहरू बढी सक्रिय छन्। यसअघि मंसिर १९ मा एमाले सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका थिए।

महासेठले निर्वाचनमा विजयी भएको भन्दै प्रचण्डलाई बधाई दिन गएको बताएका थिए। उनले नेकपा हुँदैदेखि प्रचण्डसँग निकटता रहेकाले आफू खुमलटार पुगेको बताएका थिए।  त्यसबेला पनि उनी बालकोटबाट ओलीको सन्देश लिएर खुमलटार पुगेका थिए।

२०७४ मा बनेको वामगठबन्धन भत्किएर एमाले, माओवादीमा र एकीकृत समाजवादी बनेको छ। ०७४ मा एमले एक्लैले १२१ सिट जितेको थियो। विभाजित हुँदा यसपटक ०७४ को एमालेले जति सिट पनि पुग्दैन। कम्युनिस्ट विभाजित हुँदा कम्युनिस्टलाई नै घाटा भएको भनी एमाले नेताहरूले नयाँ सम्भावनाको खोजी तीव्र पारेका हुन्।

एमालेको पहिलो प्रयास गठबन्धनबाट माओवादीलाई छुटाउनु छ। एकीकृत समाजवादीलाई एमालेमै मिलाउनु छ। यसो गर्दा वर्तमान सत्ता गठबन्धन टुट्नेछ। एमालेको दोस्रो प्रयास माओवादी र समाजवादीलाई गठबन्धनबाट बाहिर निकाल्न नसके कांग्रेससँग मिलेर सरकार बनाउने हुनेछ।

एमालेमा उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्बाङ र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायत वाम गठबन्धन बनाएर जाने दिशामा छलफलमा छन्। उनीहरूले नेतृत्वलाई पनि मिलेर नगए कम्युनिस्टको अस्तित्व संकटमा पर्ने बताइरहेका छन्। माओवादीमा पनि केही नेताहरू एमालेसँग मिलेर जानुपर्ने पक्षमा छन्।

माओवादीका एक नेताका अनुसार दुई साताअघि उनीहरूबीच भेट गराउने प्रयास भएको थियो । मिति पनि करिब टुंगो भएको थियो। तर दुई नेताबीच संवाद अघि बढ्न सकेन।

प्रचण्डले २६ मंसिरमा प्रेस सेन्टरको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ सरकार निर्माणका लागि कांग्रेस र एमालेबीच भित्रभित्रै वार्ता भइरहेको सूचना आफूलाई आइपुगेको बताएका थिए।  कांग्रेस र एमाले मिलेमा आफू प्रतिपक्षमा बस्ने उनको भनाइ थियो। सरकार निर्माणका लागि सोझो प्रयास भइरहेको छैन भन्ने पनि प्रचण्डले प्रस्ट संकेत गरेका छन्। यो पनि एमालेको सत्ता गठबन्धन टुटाउने र शक्तिमा रहिरहने एमाले प्रयास रहेको नेताहरू बताउँछन्।

तीन रणनीति

नेताहरूका अनुसार एमाले अध्यक्ष ओलीले सत्ता बाहिरै बसेर भए पनि गठबन्धन विभाजनको रणनीति बनाइरहेका छन्। यसकै लागि एमाले नेताहरू कांग्रेसदेखि माओवादी र अन्य दलका नेताहरूसँग पनि संवादमा जुटेका हुन्। एमालेको पहिलो प्रयास गठबन्धनबाट माओवादीलाई छुटाउनु छ। एकीकृत समाजवादीलाई एमालेमै मिलाउनु छ। यसो गर्दा वर्तमान सत्ता गठबन्धन टुट्नेछ। एमालेको दोस्रो प्रयास माओवादी र समाजवादीलाई गठबन्धनबाट बाहिर निकाल्न नसके कांग्रेससँग मिलेर सरकार बनाउने हुनेछ।

राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसको सरकार आवश्यक रहेको नेताहरूले बताइरहेका छन्। कांग्रेससँग सरकारमा जान एमाले तयार छ। केही गरी यी दुवै रणनीति सफल हुन नसके शक्ति पृथकीकरणको विषय उठाएर एमालेले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, प्रदेश सभामुख र प्रदेश उपभासमख जस्ता पदमा विश्वास लिएर सत्ता गठबन्धन अगाडि बढ्नुपर्ने तर्क गर्ने नीति लिने रणनीति बनाएको छ।

विगतमा यी सबै पदमा एमालेको पनि एउटा गुटले मात्रै लिने गरी अगाडि बढेको ओली नेतृत्वले यसपटक सत्ताबाहिर हुने स्थिति आएपछि शक्ति पृथकीकरणको विषय उठाउन खोजेको हो। यसलाई एमालेको तेस्रो रणनीतिका रूपमा लिइएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =