विष्णुमतीमा करिडोर बनाएर ट्राफिक जाम कम गर्छु : प्रदीप पौडेल

हिमाल प्रेस २६ मंसिर २०७९ २०:४२
विष्णुमतीमा करिडोर बनाएर ट्राफिक जाम कम गर्छु : प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेस नेता प्रदीप पौडेलले विष्णुमती नदीमा करिडोर निर्माण भएपछि चक्रपथमा हाल भइरहेको ट्रफिक जाममा कमी आउने बताएका छन्। सोमबार बूढानीलकण्ठ नगरपालिका ४ स्थित विष्णुमती करिडोर शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।

करिडोर निर्माण भएपछि चक्रपथमा ट्राफिक जाम कम हुने उनको भनाइ छ। विष्णुमतीमा मापदण्डअनुसार करिडोर बनाउन नसक्दा सवारी जाम बढेको उनले स्पष्ट पारे। काठमाडौँ ५ बाट नवनिर्वाचित सांसदसमेत रहेका उनले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताउँदै उनले विकासका काम हुन नसके नेतालाई समाजले सम्मान नगर्ने बताए।

घोषणा पत्र लेख्ने, प्रतिबद्धता जनाउने तर काम केही नगर्ने स्थिति यथावत रहे राजनीतिसँग जनता नजोडिने उनको भनाइ छ। उनले जारी, निर्माणधीन र योजनामा परेका कामको सूची बनाएर त्यसैका आधारका काम अघि बढाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

कतिपय सडकमा विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने भन्दै सडक अलपत्र छोडेको र मेलम्ची खानेपानीका लागि पाइप बिच्छ्याउन सडक खनेर अलपत्र पारेकाले जनताले सास्ती भोग्नुपरेको उनले बताए।

उनले आफ्नो निर्वाचन क्षेत्रमा सडक र खानेपानी समस्या रहेकाले यी समस्या समाधान गर्ने स्पष्ट पारे। विष्णुमतीको मुहानदेखि आफ्नो निर्वाचन क्षेत्रसम्म विष्णुमती करिडोर सडक कालोपत्रे गर्ने कुरामा आफू निरन्तर लाग्ने आश्वासन व्यक्त गरे। उक्त करिडोर १२ करोड रुपैयाँमा निर्माण हुने अनुमान गरिएको छ।

प्रकाशित: २६ मंसिर २०७९ २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =