प्रचण्डको चिन्ता : चुनावमा माओवादीलाई सिध्याउन खोजियो

'अहिलेको निर्वाचन नेपालीले गराएका होइनन्'

हिमाल प्रेस २५ मंसिर २०७९ १८:१०
18
SHARES
प्रचण्डको चिन्ता : चुनावमा माओवादीलाई सिध्याउन खोजियो तस्बिर : प्रचण्डको फेसबुकबाट

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन नेपालीले नगरेको आरोप लगाएका छन्। माओवादी केन्द्रनिकट पत्रकारहरूको संस्था प्रेस सेन्टर नेपालको केन्द्रीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले अहिले अवस्था गम्भीर भएको बताएका हुन्।

उनले यसअघिको निर्वाचनमा माओवादीलाई धेरै भोट आएको सम्झँदै भने, ‘अगाडिका निर्वाचनमा माओवादीलाई कति भोट आए म केही भन्दिनँ। त्यो नेपालीहरूले नै गरेको चुनाव थियो। अहिलेको निर्वाचन त्यस्तो देखिएन र रहेन।

संविधान माओवादीकै नेतृत्वमा बनेको र घोषणा पनि माओवादीकै नेतृत्वमा भएको दाबी गर्दै उनले संविधान कार्यान्वयनको अवस्था सहज नभएको बताए। अहिलेको निर्वाचनबारे पार्टीभित्र पनि गम्भीर समीक्षा गर्नुपर्ने अवस्था रहेको प्रचन्डको भनाइ छ। प्रचन्डले माओवादीलाई सक्काउने खेल भइरहेको भन्दै घेराबन्दीबाट बाहिर निस्कनुपर्ने बताए।

‘कुरो धेरै नै गम्भीर छ। यो अलिक अर्कै कुरा हो। हामीले संविधान बनाएको हो, घोषणा पनि हामीले नै गरेको हो। संविधानपछि निर्वाचन हामीले नै घोषणा गरेको हो। अहिले त्यस्तो छैन। अलिक गम्भीर नै छ,’ उनले भने, ‘यो पटक गम्भीर आत्मसमीक्षा गरेनौँ र अन्तर्राष्ट्रिय फेनामेना जो देखिएको छ, त्यसलाई राम्रोसँग विश्लेषण गरेर पोलोराइजेसनतर्फ गएको विश्व परिस्थितिलाई नबुझे अझै अफ्ठ्यारो दिन आउन सक्छन्।’

पार्टी एक नभएको प्रति पनि उनले चिन्ता व्यक्त गरे। ‘२०६४ सालमा अभूतपूर्व जित्दा पनि हाम्रो पार्टी एक रहन सकेन। अहिले हामीले हारेका बेला पनि निराशा र पछुतो छ। ०६४ मा जितेपछि पनि पार्टी त एकढिक्का थिएन। जित्दा पनि हामीले पार्टीलाई एक बनाउन सकेनौँ। मतलाई बचाउन नसक्ने हामी नै होइन र?,’ उनले भने, ‘अहिले नै फेरि घेराबन्दी गरिँदैछ। हाम्रो पार्टीलाई जनयुद्धका बेलामा पनि घेराबन्दी गरेर सखाप पार्न खोजिएकै हो। शान्ति प्रक्रियामा आएपछि परिस्थिति फेरियो।’

प्रकाशित: २५ मंसिर २०७९ १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =