सहकारीका फरार सञ्‍चालकहरूलाई इन्टरपोलमार्फत खोजी गरिँदै

हिमाल प्रेस २३ मंसिर २०७९ २१:५१
10
SHARES
सहकारीका फरार सञ्‍चालकहरूलाई इन्टरपोलमार्फत खोजी गरिँदै सांकेतिक तस्बिर।

काठमाडौँ– सहकारीका फरार सञ्‍चालकहरूलाई कानुनी दायरामा ल्याइने भएको छ। बचतकर्ताको रकम लिएर स्वदेश वा विदेश जहाँसुकै पुगेका सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरूलाई कारबाही गरिने भएको हो।

शुक्रबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको ‘सुशासनको प्रवर्द्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुईदिने कार्यशाला गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष काशीराज दाहालले यस्तो बताएका हुन्।

बचतकर्ताको पैसा लिएर विदेश पुगेका सञ्चालक वा कर्मचारीलाई इन्टरपोलको सहयोगका माध्यमबाट झिकाएरसमेत बचत फिर्ता गर्ने गरी काम थालिएको उनले जानकारी दिए।

स्वदेशमै लुकेर बसेका समस्याग्रस्त सहकारीका सञ्चालक एवम् कर्मचारीलाई भने राहदानी जफत, विदेश भ्रमणमा रोक तथा कालोसूचीमा राखी नाम सार्वजनिक गराउने तयारीमा पनि समिति रहेको उनले बताए।

सहकारी ऐन, कानूनअनुसार नचल्दा करिब १ हजार सहकारी समस्याग्रस्त भएको अनौपचारिक जानकारी पाए पनि हालसम्म १२ वटालाई मात्र सरकारले समस्याग्रस्त घोषणा गरेको छ।

सरकारले घोषणा गरेका १२ वटा सहकारीमध्ये सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सबै बचतकर्तालाई समितिले बचत फिर्ता दिएको उनले जानकारी दिए।

बाँकी ११ सहकारीका बचतकर्तालाई पनि क्रमशः बचत फिर्ता गराउन कारबाही प्रक्रिया अघि बढेको उनले बताए।

स्थानीय सरकारले करिब ८० प्रतिशत सहकारीका नियमन गर्ने दायित्व भएकाले सातै प्रदेशका स्थानीय तहमा पुगेर सुशासनसम्बन्धी चेतनामूलक कार्यक्रम गर्न लागिएको समितिको कार्यालयका प्रमुखसमेत रहेका सदस्यसचिव केशव पौडेलको भनाइ छ।

प्रकाशित: २३ मंसिर २०७९ २१:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =