सिन्धुलीका किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

हिमाल प्रेस २२ मंसिर २०७९ १७:१९
8
SHARES
सिन्धुलीका किसानलाई जुनार बिक्री गर्न भ्याइनभ्याइ

सिन्धुली– सिन्धुलीका किसान र व्यापारीलाई यतिबेला जुनार किनबेच गर्न भ्याइनभ्याइ छ। पाकेका जुनारले बारी र बगैँचामात्र होइन यहाँका मुख्य चोक र बजार नै पहेँलपुर बनेका छन्।

गोलञ्जोर गाउँपालिका ५ खनियाखर्क बजारमा जुनार बिक्री गर्न किसानको घुइँचो नै लाग्ने गरेको छ। वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापा मगरले बताइन्।

‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ,’ १५ वर्षदेखि जुनार बेच्दै आएकी उनले भनिन्।

भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो। कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो।

विभिन्न ठाउँ आवात-जावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन्। ‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रूपमा लाने गरेका छन्,’ स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन्। एकैदिनमा ५० हजार रुपैयाँसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन्।

किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन्। शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताइन्। १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्न मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन्।
जुनार बेचेर उनले वर्षको १ लाख रुपैयाँ बचत गर्दै आएकी छन्। खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन्।

जुनारको मूल्यमा भने एकरूपता छैन। मुख्य बजारमा व्यापारीले प्रतिकिलो ६५ देखि ७० रुपैयाँसम्ममा किसानसँग खरिद गरी ८० देखि १ सय २० रुपैयाँसम्म जुनार बिक्री गर्दै आएका छन्। गोलञ्जर गापाउँपालिका ६ नाकाजोलीका नवीन हायुले जुनार बेचेर यसवर्ष ७ लाख २० हजार रुपैयाँ आम्दानी भएको बताए। उनको बगैँचामा १ हजार ५ सय वटा जुनारका बोट छन्।

प्रकाशित: २२ मंसिर २०७९ १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =