बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा प्रियंका

हिमाल प्रेस २० मंसिर २०७९ १५:२४
16
SHARES
बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा प्रियंका

काठमाडौँ- बीबीसीले सन् २०२२ का लागि विश्वभरिका १०० प्रेरणादायी र प्रभावशाली महिलाहरूको सूची सार्वजनिक गरेको छ।

जसमा भारतीय अभिनेत्री प्रियंका चोपडाको नाम पनि अटाएको छ। बलिउडका सुपरस्टारमध्ये एक हुन्, प्रियंका। उनले सन् २००२ मा फिल्म ‘द हिरो’बाट बलिउडमा डेब्यु गरेकी हुन्।

प्रियंकाले बलिउडदेखि हलिउडसम्मको यात्रा तय गरेकी छन्। सन् २०१५ मा अमेरिकी सिरिज ‘क्वान्टिको’बाट उनले हलिउडमा पाइला चालेकी हुन्। अमेरिकी सिरिजका काम गर्ने उनी पहिलो दक्षिण एसियाली अभिनेत्री भएको बीबीसीले उनको परिचयमा खुलाएको छ।

प्रियंकाले ‘बेवाच’, ‘सकर’, ‘ह्वाट अ म्यान गोटा डू’, ‘द म्याट्रिक्स रिसरेक्सन’, ‘इज नोट इट रोमान्टिक’लगायत फिल्ममा काम गरेकी छन्।

प्रियंकाले भारतमा ‘पर्पल पेबल पिक्चर्स’ नामक फिल्म निर्माण कम्पनी पनि खोलेकी छन्। त्यसको ब्यानरमा नेपाली फिल्म ‘पाहुना’ बनेको थियो। पाखी टायरवालाको निर्देशनमा बनेको फिल्ममा इसिका गुरुङ, अनमोल लिम्बू, मञ्जु केसी, शरण राईलगायत कलाकारको अभिनय छ।

उनी युनिसेफकी सद्भावना दूत पनि हुन्। जसले बालबालिका र महिलाहरूको शिक्षाका लागि काम गर्दै आएको छ।

त्यस्तै प्रियंका महिला तथा बालबालिकाका विषयमा मुखर छिन्। उनीहरूका समस्याबारे प्रियंकाले खुलेर बोल्ने गरेकी छिन्। युक्रेनका द्वन्द्वपीडितदेखि इरानमा आन्दोलनरत महिलाको समर्थन गर्दै आएकी छन्।

बीबीसीले सार्वजनिक गरेको सय महिलाको सूचीमा इरानमा परिवर्तनको मागसहित सडक आन्दोलनको नेतृत्व गरिरहेका साहसी महिलादेखि युक्रेन–रुस युद्धमा द्वन्द्वको प्रतिरोधमा उभिएका महिलाहरू छन्।

सूचीमा कलाकार बिली इलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलन्स्की, इरानी पर्वतारोही एलनाज रेकाबी लगायतको नाम रहेको छ।

प्रकाशित: २० मंसिर २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =