द कश्मीर फाइल्स : एक ‘भद्दा’ फिल्म

हिमाल प्रेस २० मंसिर २०७९ ११:३९
10
SHARES
द कश्मीर फाइल्स : एक ‘भद्दा’ फिल्म

काठमाडौँ- इजरायली फिल्मकर्मी नदाव लपिदले हिन्दी फिल्म ‘द कश्मीर फाइल्स’लाई ‘भद्दा’ फिल्म भनेका छन्। हालै भारतमा ‘इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डिया (इफ्फी)’ सम्पन्न भएको छ। गोवामा महोत्सवको समापन समारोहमा भएको थियो।

जहाँ इफ्फीको निर्णायक प्रमुख रहेका इजरायली फिल्मकर्मी नदाव लपिदले हिन्दी फिल्म ‘द कश्मीर फाइल्स’लाई ‘दुष्प्रचार गर्ने’ र ‘भद्दा’ फिल्म भनेका हुन्।

फिल्मको प्रदर्शनबाट आफू ‘विचलित र स्तब्ध’ रहेको उनको भनाइ थियो। ‘महोत्सवमा हेरेका फिल्ममध्ये द कश्मीर फाइल्स दुष्प्रचार गर्ने र भद्दा फिल्म लाग्यो,’ उनले भने, ‘इफ्फीजस्तो प्रतिष्ठित समारोहका लागि यो अनुपयुक्त फिल्म हो।’

महोत्सवमा इन्डियन पनोरमा विधाअन्तर्गत सहभागी भएको ‘द कश्मीर फाइल्स’ गत मार्च ११ मा भारतीय सिनेमाघरहरूमा रिलिज भएको थियो।

फिल्ममा सन् १९९० मा पाकिस्तानको समर्थन गर्ने आतंकवादीहरूद्वारा कश्मीरका पण्डितको हत्या र उनीहरूलाई घरबारविहीन बनाएको कथालाई देखाइएको छ।

विवेक अग्निेहोत्रीको निर्देशनमा बनेको फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी, दर्शन कुमारलगायत कलाकारहरूको अभिनय छ।

इजरायली फिल्मकर्मी नदाव लपिदको बयानपछि फिल्मका निर्देशक विवेक अग्निहोत्रीले ट्वीट गरेका थिए। उनले लेखेका थिए, ‘सत्य सबैभन्दा खतरनाक वस्तु हो। यसले मान्छेलाई झुटो बोल्न बाध्य बनाउन सक्छ।’

फिल्ममा मुख्य भूमिकामा रहेको अभिनेता अनुपम खेरले पनि ट्वीटरमा भिडियो पोस्ट गर्दै भनेका थिए, ‘कश्मीर फाइल्सको सत्य केही मान्छेको घाँटीमा हड्डीजस्तै अड्किएको छ। न उनीहरू निल्न सक्छन् न ओकेल्न! कश्मीरको सत्यलाई झुटो साबित गर्न उनीहरू लागिपरेका छन्। यो फिल्म होइन, एक आन्दोलन हो।’

‘द कश्मीर फाइल्स’को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि केन्द्रीय गृहमन्त्री अमित शाहले समेत प्रशंसा गरेका थिए।

तर कतिपयले भने निर्देशक अग्निहोत्रीले हिन्दू-मुस्लिमबीच फाटो पार्ने उद्देश्यले फिल्म बनाएको आरोप लगाएका थिए। फिल्म सिनेमा हलमा प्रदर्शन भइरहँदा मुस्लिम समुदायविरुद्ध नारा पनि लगाइएका थिए।

इफ्फीको  ५३ औँ संस्करणको समापन समारोहमा ‘द कश्मीर फाइल्स’लाई ‘भद्दा’ र ‘दुष्प्रचार गर्ने’ फिल्म भनेपछि इजरायली फिल्मकर्मी लपिदको धेरै भारतीयले आलोचना गरे। फिल्मको समर्थनमा रहेकाहरू उनीविरुद्ध खनिए।

पछि फिल्म महोत्सवको निर्णायक मण्डलमा रहेका भारतीय सुदीप्तो सेनले लपिदद्वारा गरिएको टिप्पणी उनको नितान्त व्यक्तिगत रहेको बताए। ‘द कश्मीर फाइल्स’बारे गरिएको टिप्पणी लपिदको व्यक्तिगत सोच हो,’ सेनले भने, ‘यो उनको व्यक्तिगत  सोच हो। त्यसको अरू निर्णायकहरूसँग सरोकार छैन।’

निर्णायक मण्डलमा रहेका अमेरिकी निर्माता जिन्को गोटोह, फ्रान्सका फिल्म एडिटर पास्कल चावेन्स, फ्रान्सकै सर्ट फिल्म निर्माता जेभियर एङ्गुलो बारटुरेनले भने आफूहरू लपिदको साथमा रहेको बताएका छन्।

प्रकाशित: २० मंसिर २०७९ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =