कांग्रेसका आरजु र मञ्जु समानुपातिक सांसद बन्ने पक्का, अन्य ३० जना को को?

सन्तोष अधिकारी १९ मंसिर २०७९ १४:०४
16.1k
SHARES
कांग्रेसका आरजु र मञ्जु समानुपातिक सांसद बन्ने पक्का, अन्य ३० जना को को?

काठमाडौँ- मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिकबाहेकको मतपरिणाम सार्वजनिक भइसकेको छ। मतपरिणामका आधारमा नेपाली कांग्रेस ठूलो दल बनेको छ। प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट जित्ने पक्का छ। प्रत्यक्ष र समानुपातिक गरेर कांग्रेसका सांसदको संख्या ८९ हुनेछ।

प्रत्यक्षमा महिलालाई उम्मेदवार बनाउन कन्जुस्याइँ गरेको कांग्रेसका लागि समानुपातिकमा भने महिलाको संख्या धेरै बनाउनुपर्ने बाध्यात्मक अवस्था छ। सोही कारण कांग्रेसले पाउने समानुपातिकको ३२ सिटमध्ये २९ जना महिला सांसद बन्नेछन्। ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक प्रावधान छ। प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदको ३३ प्रतिशत समानुपातिकमा समेटिनुपर्नेछ।

राष्ट्रियसभामा कांग्रेसका १० सांसद छन्। यसरी दुवैको सदनको सांसदको संख्या ९९ हुन आउँछ। राष्ट्रियसभामा कांग्रेसका महिला सदस्य कमला पन्त, दुर्गाकुमारी गुरुङ र अनिता देवकोटा गरी तीन जनामात्रै छन्। प्रत्यक्षमा कांग्रेसबाट एक जना महिला सीता गुरुङले चुनाव जितेकी छन्। समानुपातिक उम्मेदवारको बन्दसूची कांग्रेसले निर्वाचन आयोग बुझाइसकेको छ। बन्दसूची बुझाउँदा विभिन्न क्लस्टर बनाइएको छ।

कांग्रेसको खस-आर्यबाट बन्दसूचीमा रहेकामध्ये आरजु राणा, मञ्जु खाण, अम्बिका बस्नेत, सरिता प्रसाईं, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मैना रावल कार्की सांसद बन्ने सम्भावना छ। कान्तिका सेजुवाल र मैना रावल कार्की भने खस-आर्य महिलाको पनि पिछडिएको क्षेत्रबाट बन्दसूचीमा समेटिएको नाम हो।

आरजु राणा कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती हुन् भने मञ्जु खाण रुपन्देहीबाट चुनाव हारेका गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती हुन्।

यता आदिवासी-जनजाती क्लस्टरबाट सीताकुमारी राना, लीलादेवी बोखिम, कुसुम थापामगर, सरस्वती बजिमय, माया राई, सपना राजभण्डारी र सुशीला थिङ समानुपातिक सांसद बन्ने सम्भावना छ।

मुस्लिम क्लस्टरबाट जावेदा खातुन पर्ने सम्भावना अधिक छ। मधेशी महिला क्लस्टरमा मुक्तकुमारी यादव, चन्दा चौधरी, नगिना यादव, निनुकुमारी मण्डल र संगीता मण्डल सांसद बन्ने सम्भावना छ।

दलित क्लस्टरबाट रुपमा विक, शान्ति विक, आशा विक, विष्णुमाया परियार, सीता मिजारको सम्भावना छ।

त्यस्तै थारु क्लस्टरबाट विनाकुमारी थनेत र कल्पना चौधरी सांसद बन्नेछन्।

तीन पुरुषमा कोको?

कांग्रेसले महिलाको प्रतिनिधित्व ३३ प्रतिशतभन्दा धेरै नगराउने पनि पक्कापक्काजस्तै भएको छ। त्यसैले कांग्रेसले पाउने समानुपातिकको ३२ सिटमध्ये २९ मात्रै महिला सांसद बन्नेछन्। बाँकी तीन जनामा भने पुरुष सांसद बन्नेछन्। यी तीन जना को-को होलान् भन्ने आमचासो छ।

प्रत्यक्षतर्फ चुनाव लड्ने भन्दै आएका पूर्वसहमहामन्त्री तथा कांग्रेस प्रवक्ता प्रकाशशरण महत खसआर्यको क्लस्टरबाट सांसद बन्दै छन्। उनी खसआर्य क्लस्टरको पहिलो नम्बरमा सिफारिस भएका छन्।

मधेशीको पुरुषतर्फबाट बन्दसूची पहिलो नम्बरमा रहेका पूर्वउपसभापति विमलेन्द्र निधि पनि सांसद बन्ने सम्भावना अधिक छ। त्यस्तै आदिवासी जनजातीतर्फ पहिलो नम्बरमा सिफारिस भएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र दलित क्लस्टरमा पहिलो नम्बरमा सिफारिस भएका सहमहामन्त्री जीवन परियारमध्ये एक जना सांसद हुनेछन्।

प्रकाशित: १९ मंसिर २०७९ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =