चीनलाई डब्ल्यूएचओले भन्यो- कोरोनाबारे वास्तविक सूचना देऊ

हिमाल प्रेस १६ पुष २०७९ ९:१२
6
SHARES
चीनलाई डब्ल्यूएचओले भन्यो- कोरोनाबारे वास्तविक सूचना देऊ

काठमाडौँ-​ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना महामारी तथा संक्रमण अवस्थाबारेको वास्तविक जानकारी दिन आग्रह गरेको छ।

सन् २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबारे यसअघि पनि पूर्ण जानकारी दिन आनाकानी गरेको भन्दै डब्ल्यूएचओले तथ्यांक नलुकाउन भनेको छ। डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

कोरोना रोकथामका विभिन्न प्रतिबन्ध खुकुलो पारेसँगै चीनमा अहिले फेरि कोरोना महामारी बढेको छ। संक्रमण बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता समेत व्यक्त गरेको छ। डब्ल्यूएचओले खोपको सहजताका बारेमा नियमित सूचना आदान प्रदान भएमा महामारी रोकथाम गर्न सहज हुने अपेक्षा राखेको छ।

अमेरिका, फ्रान्स, स्पेन, दक्षिण कोरिया, भारत, इटली, जापान र ताइवानलगायतका देशले चीनबाट आउने यात्रुका लागि कोराना परीक्षण अनिवार्य गरिसकेका छन्। कोरोनाको तीन वर्ष बित्दा पनि विश्वव्यापी रूपमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक संख्या अस्पष्ट छ।

विश्वव्यापी रूपमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको वास्तविक संख्यामा अस्पष्ट रहेको छ। विभिन्न देशले भिन्नभिन्न रूपमा मापन गर्ने तथा तथ्यांक राख्ने कारण सही मापन गर्न कठिन भएको हो।

विज्ञहरूले आधिकारिक रूपमा रिपोर्ट गरिएकोभन्दा धेरैले ज्यान गुमाएको बताउँदै आएका छन्। कोरोनाको पहिलो संक्रमित फेला परेको चीनमा १० लाखभन्दा धेरैको ज्यान गएको अनुमान छ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरसको पहिचान भएयता अहिलेसम्म ६६ लाख ५० हजारभन्दा धेरैको ज्यान गएको छ।

प्रकाशित: १६ पुष २०७९ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =