उद्योगी-व्यवसायीका समस्याको समाधान खोज्छुः अर्थमन्त्री पौडेल

हिमाल प्रेस १४ पुष २०७९ १८:३४
4
SHARES
उद्योगी-व्यवसायीका समस्याको समाधान खोज्छुः अर्थमन्त्री पौडेल फाइल तस्बिर।

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीका समस्या समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन्। बिहीबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल इन्भेष्टमेण्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताएका हुन्।

‍चेम्बरले मुलुकको आर्थिक समुन्नतीको लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको उनको भनाइ छ। उनले मुलुकको आर्थिक उन्नती अहिले सबैको सरोकारको विषय भएको सुनाए। अर्थमन्त्री पौडेलले चेम्बरले उठाएका मागहरुलाई छलफल गरेर सकारात्मक समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाए। त्यस्तै, अर्थमन्त्री पौडेलले नेपाल उद्योग व्यापार महासंघसँगको छलफलमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै अफ्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको बताए। उनले व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्ने विषयमा पहल गर्ने बताए। त्यस्तै अर्थमन्त्री पौडेलले शेयर बजार सुधारको लागि आवश्यक पहल गर्ने पनि जानकारी गराए।

नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले मन्त्री पौडेललाई बैंकको उच्च ब्याजदर र चालुपँजी कर्जाको कारण अर्थतन्त्र संकुचनमा परेको बताए। उनले बैंकको ब्याजदरलाई व्यवस्थित गर्न र चालुपुँजी कर्जालाई तत्कालको लागि स्थगित गर्न माग गरे। अध्यक्ष मल्लले बैंकको ब्याजदर सिङ्गल डिजिटमा ल्याउन आग्रह गरे। भन्सारमा वस्तु आयात गर्दा लिने सन्दर्भ मूल्यका कारण भन्सार एकीकृत नभएको भन्दै सन्दर्भ मूल्यलाई कारोबार मूल्यको मान्यता दिन पनि माग गरे। उनले बैंकहरूले कर्जामा लिने प्रिमियम दर बढीमा २ प्रतिशत कायम गर्नुपर्ने बताए। सरकारले चालुपुँजी कर्जा मार्ग दर्शन लागू गरे अधिकांश उद्योग बन्द हुने उनको दाबी छ।

त्यस्तै अर्थमन्त्रीसँगको भेटमा शेयर लगानीकर्ता संघका पूर्वअध्यक्ष छोटेलाल रौनियारले शेयर लगानीकर्ताहरुले महिनामा १ करोड २० अर्ब रुपैयाँ कर तिर्ने गरेको तर अहिले शेयर बजारमा गिरावट आउँदा लगानीकर्ताको धेरै आम्दानी घटेको बताए। अर्थमन्त्री पौडेलसँग नेपाल उद्योग व्यापार महासंघले सरकारको पहिलो मन्त्री परिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेको छ। त्यस्तै शेयर लगानीकर्ता संघले पनि विभिन्न माग राख्दै अर्थमन्त्रीसँग भेट गरेको छ । त्यस्तै, बिहीबार नै लघुवित्त वित्तीय संघले पनि विभिन्न आफ्ना माग राख्दै अर्थमन्त्री पौडेलसँग भेट गरेका थिए।

प्रकाशित: १४ पुष २०७९ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − five =