गण्डकी ११ माथि स्पेनिस टिम कासेरेन्योको सजिलो जित

हिमाल प्रेस १३ पुष २०७९ १८:५२
14
SHARES
गण्डकी ११ माथि स्पेनिस टिम कासेरेन्योको सजिलो जित

काठमाडौँ- दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपीले बुधबार गण्डकी ११ लाई ३–० ले पराजित छ। पोखरा रंगशालामा कासेरेन्यालाई जिताउन कार्मेलो मोरा, मिगुएल एन्जल कारिलेरो गोन्जालेज र बर्मुले एक–एक गोल गरे।

अब कासेरेन्योले दोस्रो खेलमा बिहीबार काठमाडौँमा दशरथ रंगशालामा काठमाडौँ ११ सँग खेल्नेछ।

‘शान्तिका लागि फुटबल’ नाराका साथ नेपाल आएको कासेरेन्योलाई २३औँ मिनेटमा कार्मेलोले गोल गर्दैअघि बढाएका थिए। कार्मेलोले ‘सिक्स याड बक्स’ बाट गरेको प्रहार गण्डकीका गोलरक्षक दीप कार्कीले बचाउन सकेनन्।

२९ औँ मिनेटमा मिगुएल एन्जल कारिलेरो गोन्जालेजले गोल गर्दै अग्रता २–० को बनाए। गोन्जालोले पेड्रोको ब्याकपासलाई सदुपयोग गरेका थिए। स्पेन ला लिगा क्लब सेभिया, रायो भालेकानोबाट खेलेका ४५ वर्षीय गोन्जालेज सुरुवाती ३८ मिनेटसम्म मैदानमा रहे।

खेलको ८९ औँ मिनेटमा बर्मुले तेस्रो गोल गरे । एल कौनीको कर्नर बल रोक्न जाँदा गोलकिपर राजाबाबु गुरुङले बल नियन्त्रण गुमाएका थिए। त्यही मौकाको फाइदा उठाउँदै क्यासेरेनोका बर्मुले ट्याप इन गोल गरे।

कास्की जिल्ला फुटबल संघसँगको समन्वयमा लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा स्थानीय टोलीको कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले गरेका थिए। राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको टोलीबाट गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

गण्डकीबाट मैदान प्रवेश गर्ने अन्य खेलाडीमा दुई गोलकिपर दीप कार्की र राजाबाबु मगर, रोशन रानामगर, मानबहादुर तामाङ, आशिष गुरुङ, रन्दीप पौडेल, जीवन गुरुङ, सुमित श्रेष्ठ, सरोज योञ्जन, विसोन गुरुङ, जया गुरुङ, कमल थापामगर, विजय श्रेष्ठ, दीपेश आलेमगर, सन्तबहादुर गुरुङ, लक्ष्मण रुचाल, सुभाष गुरुङ, सुरज गुरुङ र प्रकाश पुन थिए।

कासेरेन्योको ५० सदस्यीय टिम मंगलबार काठमाडौँ ओर्लिएको थियो। त्यसपछि स्पेनिस टिम सिधै पोखरा पुगेको थियो। दशरथ रंगशालामा हुने खेलमा काठमाडौँको ११ को नेतृत्व नेपाली राष्ट्रिय फुटबल टिमका अर्का पूर्वकप्तान विराज महर्जनले गर्नेछन्। त्यसैगरी प्रशिक्षकको जिम्मेवारीमा मेघराज केसी रहनेछन्।

स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो।

प्रकाशित: १३ पुष २०७९ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =