मन्त्रीका आकांक्षी बढेपछि मापदण्ड बनाउँदै ओली

हिमाल प्रेस १३ पुष २०७९ १६:४९
294
SHARES
मन्त्रीका आकांक्षी बढेपछि मापदण्ड बनाउँदै ओली

काठमाडौँ- नेकपा एमालेमा मन्त्रीका आकांक्षी बढेपछि अध्यक्ष केपी शर्मा ओलीले मापदण्ड बनाउन थालेका छन्। यसका लागि उनले पार्टी सचिवालयका नेताहरूसँग परामर्श सुरु गरेको एक नेताले जानकारी दिए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेले एक उपप्रधानमन्त्रीसहित चार जनामन्त्री पठाइसकेको छ। नवगठित मन्त्रिपरिषद्‌मा एमालेबाट विष्णु पौडेलले उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्। ज्वाला साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारी मन्त्रीमा नियुक्त भए पनि जिम्मेवारी भने पाएका छैनन्। पहिलो चरणमा मन्त्री बनेको हकमा भने कुनै मापदण्ड लागू नगरिएको नेताहरू बताउँछन्।

एमालेको भागमा १० वटा मन्त्रालय परेको छ। एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र टोपबहादुर रायमाझीमध्ये सरकारमा जाने सम्भावना छ।

एमालेले प्रदेशगत आधारमा मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ। प्रदेश १ बाट एलपी साँवा, देवराज घिमिरे, भीम आचार्य र भगवती चौधरीमध्ये एकजना सम्भावित मन्त्री बन्ने सूचीमा छन्। प्रदेश २ बाट भने ज्वाला साह मन्त्री भइसकेकी छन्।

बागमतीबाट गोकुल बाँस्कोटा र कृष्णगोपाल श्रेष्ठमध्ये एकजनालाई सरकारमा पठाउने सम्भावना रहेको ती नेताले बताए। दुवै जना यसअघि मन्त्री भइसकेका छन्।

गण्डकीबाट पर्वतमा ०७४ र ०७९ मा दुईपटक कांग्रेसलाई क्लिनस्विप गर्दै विजयी पर्वतका पदम गिरी बढी चर्चामा छन्। लुम्बिनीबाट सचिवद्वय छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझी तथा पोलिटब्युरो सदस्यद्वय ठाकुर गैरे र सूर्य थापा चर्चामा रहेको ती नेताले बताए।

‘हामी नयाँ मापदण्ड बनाउन जुटेका छौँ। त्यसबारे छलफल भइरहेको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले हिमालप्रेससँग भने। अध्यक्ष ओलीले भौगोलिक वा प्रादेशिक आधारमा मन्त्री चयन गर्ने, दुई कार्यकालभन्दा बढी मन्त्री बनेकालाई नबनाउने र प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिने मापदण्ड बनाएका छन्।

‘हेभिवेट’ नेता हराएकालाई मन्त्री बनाउनुपर्ने दबाब ओलीमाथि छ। ‘लामो समय सांसद बनेका तर मन्त्री नबनेकालाई यसपटक अवसर दिनुपर्ने हुन्छ’, ज्ञवाली भन्छन्।

मापदण्डका अनुसार जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल हराएका सूर्य थापा, कांग्रेस पूर्वउपसभापति विजय गच्छदार हराएकी भगवती चौधरी, एकीकृत समाजवादीका सोम पाण्डेय हराएका ठाकुर गैरेलगायतलाई मन्त्री बनाउनुपर्ने बाध्यतामा ओली छन्।

सचिव योगेश भट्टराईले भने मन्त्री ककसलाई पठाउने छलफलमै रहेको बताए। उनले सम्बन्धित मन्त्रालयमा योग्य सांसदलाई पार्टीले मन्त्रीमा पठाउने जानकारी दिए। ‘अहिले आकांक्षा राख्नु स्वाभाविक हो। पार्टीले निर्णय गरेर अघि बढ्छ’, उनले भने।

प्रकाशित: १३ पुष २०७९ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =