४४५ दिन शिक्षा मन्त्रालय सम्हाल्दा केके गरे देवेन्द्र पौडेलले?

हिमाल प्रेस १२ पुष २०७९ १३:५१
544
SHARES
४४५ दिन शिक्षा मन्त्रालय सम्हाल्दा केके गरे देवेन्द्र पौडेलले?

काठमाडौँ-  निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयको नेतृत्वमा बसेर गरेका १९ काम सार्वजनिक गरेका छन्। पौडेलले २०७८ असोज २२ गते शिक्षा मन्त्रालय सम्हालेका थिए।

पौडेलले  सार्वजनिक गरेको कामको सूचीमा सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालयस्तरको गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण गर्ने देखि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ जारी गर्नेसम्मका छन्।

आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार ३ सय १० सामुदायिक विद्यालयमा २ कोठे भवन र १ हजार ६२ सामुदायिक विद्यालयमा ४ कोठे भवन निर्माण गरेको २ हजार १८१ सामुदायिक विद्यालयमा डिजिटल पुस्तकालय र आईटी ल्याब स्थापना गरेको प्रगति विवरणमा उल्लेख छ।

चालु आर्थिक वर्ष २०७९/८० मा १ हजार ६ वटा विद्यालयमा ४ कोठे र १ हजार १६ विद्यालयमा २ कोठे गरी मुलुकभरका २०२२ वटा विद्यालय भवन निर्माणका लागि र आईटी ल्याव स्थापनाका लागि १ हजार ४५२ विद्यालय छनोट भई वित्तीय हस्तान्तरणको क्रममा रहेको जारी विवरणमा उल्लेख छ।

यसै कार्यक्रम अन्तर्गत गत आवदेखि १४० वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा रहेको र चालु आव २०७९/८० मा थप एक सय वटा विद्यालयमा यो कार्यक्रम विस्तार हुने क्रममा रहेको पनि शिक्षा मन्त्रालयले जनाएको छ।

उनले १५ वर्षे दीर्घकालीन लक्ष्यसहितको शिक्षाको सोचपत्र २०७९ जारी गरेको, आर्थिक वर्ष २०७८/०७९ मा थप २० स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार गरी कुल ६५५ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गरेको समेत उल्लेख गरेका छन्।

यस्ता छन् १९ काम

१. सुदूरपश्चिम प्रदेशमा विश्वविद्यालयस्तरको मेडिकल कलेज स्थापनाको लागि गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण।

२. मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ जारी, मकवानपुर जिल्लाको चित्लाङमा विश्वविद्यालयको पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा।

३. योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ जारी, संखुवासभा जिल्लाको अरुण उपत्यकामा विश्वविद्यालय निर्माण गर्न जग्गा प्राप्ति।

४. विद्यालय शिक्षासम्बन्धी विधेयक, उच्च शिक्षासम्बन्धी विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी विधेयक तथा राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाइएको।

५. आव २०७८/७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार ३ सय १० सामुदायिक विद्यालयमा २ कोठे भवन र १ हजार ६२ सामुदायिक विद्यालयमा ४ कोठे भवन निर्माण, २१८१ सामुदायिक विद्यालयमा डिजिटल पुस्तकालय र आईटी ल्याव स्थापना भएको, चालु आव २०७९–८० मा १००६ वटा विद्यालयमा ४ कोठे र १०१६ विद्यालयमा २ कोठे गरी मुलुकभरका जम्मा २०२२ वटा विद्यालय भवन निर्माणका लागि र आईटी ल्याव स्थापनाका लागि १४५२ विद्यालय छनौट भई वित्तीय हस्तान्तरणको क्रममा रहेको। यसै कार्यक्रम अन्तर्गत गत आव देखि १४० वटा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा रहेको र चालु आव २०७९/८० मा थप १०० वटा विद्यालयमा यो कार्यक्रम विस्तार हुने क्रममा रहेको।

६. राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीका विषयमा गठित जाँचबुझ समिति २०७३ को प्रतिवेदन कार्यान्वयन गरी द्वन्द्व पिडित शिक्षकहरूको व्यवस्थापन ।

७. शिक्षक सेवा आयोग नियमावलीको ११ औँ संशोधन ।

८. दसवर्षे विद्यालय शिक्षा क्षेत्र योजना स्वीकृत भई आर्थिक वर्ष २०७९/८० देखि कार्यान्वयन।

९. प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सुधारका लागि १० वर्षे रणनीतिक योजनाको मस्यौदा तयार।

१०. लेटर ग्रेडिङ निर्देशिका, २०७८, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम, सञ्चालन कार्यविधि, २०७८, विपन्न लक्षित छात्रवृत्ती कार्यान्वयन मापदण्ड, २०७८, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) नियमावली, २०७८, सिकाइ चौतारी विकास, सञ्चालन, प्रयोग र सम्भार कार्यविधि, २०७८ र परम्परागत शिक्षण सँस्था सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७८ स्वीकृत भई कार्यान्वयन भइरहेको।

११. आर्थिक वर्ष २०७८/७९ मा अछाम, काठमाडौँ, ताप्लेजुङ, बझाङ, सोलुखुम्बु र कैलाली, बाजुरा र बाँके जिल्ला साक्षर घोषणा भई ६१ जिल्ला साक्षर घोषणा भएकोमा आव २०७९/८० मा कञ्चनपुर जिल्ला थप भई हालसम्म ६२ जिल्ला साक्षर घोषणा भएका, गण्डकी, वागमती र प्रदेश १ गरी ३ वटा प्रदेश साक्षर प्रदेश घोषणा।

१२. विद्यालय भवनको सम्पन्न हुँन बाँकी काममा निरन्तरता दिई सम्पन्न गर्ने उद्देश्यका साथ केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा) लाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा ल्याइएको, भुकम्पबाट क्षति भएका ७ हजार ५८३ ओटा विद्यालयमध्ये हालसम्म कुल ७ हजार १९० ओटा विद्यालयको निर्माण कार्य सम्पन्न ।

१३. शिक्षक अस्पताल निर्माणको लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भई चितवन जिल्लामा निर्माण गर्न जग्गा प्राप्त हुने क्रममा।

१४. आर्थिक वर्ष २०७९/८० मा थप १८ वटा गरी हालसम्म ८२ वटा उच्च शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्रदान।

१५. राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट प्रदान गरिने सेवालाई विकेन्द्रित गर्न सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनका लागि सहमति प्राप्त भएकोमा यसअघि नै मधेश प्रदेशको बर्दिबासमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा स्थापना भई सकेकोमा यस वर्ष लुम्बिनी प्रदेशको रुपन्देहीमा विधि विज्ञान प्रयोगशाला स्थापना।

१६. विद्यार्थीको सर्वांगीण विकासका लागि अति आवश्यक पोषण र खाद्य उपलब्ध गराउने क्रममा स्थानीय उत्पादनको उपयोगलाई प्राथमिकता दिई दिवा खाजा कार्यक्रमलाई विस्तार गरी ७७ वटै जिल्लाका कक्षा ५ सम्मका बालबालिकाको लागि दिवा खाजा कार्यान्वयन हुँदै आएकोमा आर्थिक वर्ष २०७९/८० मा कक्षा ६ सम्म विस्तार गरी कुल ४२ लाख ३९ हजार जना बालबालिकाहरूलाई दिवा खाजा उपलब्ध गराउने व्यवस्था।

१७. शैक्षिक सत्र २०७९ मा कक्षा ९ सम्मका बालबालिकाका लागि रंगीन पाठ्यपुस्तक उपलब्ध।

१८. आर्थिक वर्ष २०७८/७९ थप २० स्थानीय तहमा प्राविधिक धारको शिक्षा विस्तार गरी कुल ६५५ वटा स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच।

१९. १५ वर्षे दीर्घकालीन लक्ष्य सहितको ‘शिक्षाको सोचपत्र २०७९’ जारी।

प्रकाशित: १२ पुष २०७९ १३:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =