महोत्तरीमा मजदुर हत्या आरोपित एक जना पक्राउ, दुई फरार

हिमाल प्रेस १० पुष २०७९ १७:४३
60
SHARES
महोत्तरीमा मजदुर हत्या आरोपित एक जना पक्राउ, दुई फरार

जनकपुरधाम– महोत्तरीको सम्सी गाउँपालिकामा एक जना मजदुरको हत्या भएको छ। सम्सी गाउँपालिका वडा नम्बर २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीलाई मलद्वारमा पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको हो।

अन्सारीको बर्बरतापूर्ण हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मोहम्मद अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सलामले अन्सारीलाई यातना दिई रहेको भिडियो पनि बनाएको प्रहरीले जनाएको छ।

सलामले गत बुधबार अन्सारीको मलद्वारमा आगो लगाएर अचेत अवस्थामा उनकै घरअगाडि फालेर भागेका थिए। अचेत अवस्थामा रहेका उनलाई तत्काल जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भर्ना गरिएको थियो। उपचारकै क्रममा अन्सारीको मृत्यु भएको हो।

अन्सारी मजदुरी गर्दै आएका थिए। सलामले पनि अन्सारीलाई घरमै काम गर्नका लागि बोलाएका थिए। घरमा काम गरेवापत मासिक १५ हजार रुपैयाँ पारिश्रमिक दिइने सहमति भएको थियो।

‘सलामलाई घटना भएकै दिन पक्राउ गरिएको हो। उनीमाथि ज्यानमार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाइसकेका छौं,’ इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले भने।

घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको एसपी पंगेनीको भनाइ छ। पक्राउ परेका सलाम लागुऔषध मुद्दामा यसअघि पनि दुई पटक पक्राउ परेका छन्। मृतकका भाइ समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनुपर्ने र क्षतिपुर्ति पाउनु पर्ने माग गरेका छन्। मृतक अन्सारीको घरको आर्थिक अवस्था कमजोर छ।उनको ६ जना सन्तान छन्।

प्रकाशित: १० पुष २०७९ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =