शीतलहर र हिमपातबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

हिमाल प्रेस १० पुष २०७९ १२:५६
4
SHARES
शीतलहर र हिमपातबाट जोगिन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए।

काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ। यहाँको न्यूनतम तापक्रम ४।५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चिसोबाट बच्न शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र पर्याप्त हावा ओहोरोदोहरो हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ।

आमाको दूध खाने बच्चालाई नियमितरुपमा स्तनपान गराउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्तमात्रामा सेवन गराउन र धुमपान तथा मध्यपान नगर्न मन्त्रालयले आग्रह गरेको छ। शीतलहर तथा चिसोमा मुटु रोग, हृदयाघात, फोक्सो तथा श्वासप्रश्वासमा समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, ज्वरो आउने, झाडापखला लाग्ने, दम बढ्ने, रुघाखोकी, घ्यारघ्यार, श्वास फेर्न कठिनाइ हुनेजस्ता समस्या देखिने गर्छन्।

मन्त्रालयले यस्ता समस्या देखिए तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ। साथै सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट आदि बाल्दा झ्यालढोका बन्द नगर्न समेत आग्रह गरेको छ।

प्रकाशित: १० पुष २०७९ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =