बालुवाटारमा प्रचण्ड-देउवाबीच ‘वान अन वान’ वार्ता

हिमाल प्रेस १० पुष २०७९ ११:०४
50
SHARES
बालुवाटारमा प्रचण्ड-देउवाबीच ‘वान अन वान’ वार्ता

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्णायक छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्।

देउवा र दाहालबीच ‘वान टु वान’ वार्ता भइरहेको माओवादीका एक नेताले बताए।

यसअघि प्रचण्डले माओवादी नेताहरूसँग बसेर छलफल गरेका थिए। देउवाले पनि कांग्रेसका नेताहरूसँग छलफल गरेका थिए।

सत्ता गठबन्धनमा पहिलो दुई वर्ष कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। सोही विषय टुंग्याउन आज (आइतबार) सत्ता गठबन्धनको बैठक बस्दै छ। बिहान १० बजे बस्ने भनिएको गठबन्धनको बैठक अहिलेसम्म बस्न सकेको छैन।

कांग्रेसले शेरबहादुर देउवा र माओवादी केन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्नुपर्ने अडान राखेका छन्। यता दोस्रो ठूलो दल एमाले भने तत्काल सरकारमा जानु भन्दा गठबन्धन भत्काउने रणनीतिमा छ।

निर्वाचनमा माओवादी केन्द्र खुम्चिए पनि अध्यक्ष दाहाल सरकारको नेतृत्वका लागि जिद्दी गरिरहेका छन्। कांग्रेसबाट प्रधानमन्त्री बन्ने संकेत नपाएपछि उनले एमालेसँग पनि वार्ताको ढोका खोलेका छन्।

२०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि दाहाल-ओली सम्बन्ध पानी बारबारजस्तै थियो। निर्वाचनपछि भने यी नेताहरूबीच सम्बन्ध सुधार हुन थालेको छ।

यद्यपि दाहाल र ओलीबीचको वार्ता कुन स्तरमा पुगेको छ भन्ने विषय सार्वजनिक भएको छैन। ओलीले दाहाल तत्काल प्रधानमन्त्री बन्न नसक्ने अभिव्यक्ति दिइसकेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आइतबार अपराह्न ५ बजे सकिने हुँदा त्यसअघि नै प्रधानमन्त्रीको उम्मेदवार छानेर सांसदहरूको बहुमत पुर्‍याउनु पर्ने गठबन्धनलाई बाध्यता छ। सहमति नजुटे सरकार गठनका लागि राष्ट्रपतिसँग थप समय माग्ने सम्भावना पनि छ। नभए ठूलो दलको हैसियतमा देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेछन्। उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

प्रकाशित: १० पुष २०७९ ११:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =