दाहालको प्रधानमन्त्री हुने चाहना पूरा हुँदैन: केपी ओली

हिमाल प्रेस ९ पुष २०७९ १५:१७
142
SHARES
दाहालको प्रधानमन्त्री हुने चाहना पूरा हुँदैन: केपी ओली फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएका छन्। एमाले प्युठान-काठमाडौँ सम्पर्क मञ्चले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आायोजना गरेको गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘यदि तपाईंले आँप पाकेकै बेला टिप्नु भएन भने खान पाउनुहुन्न, बेच्न पनि पाउनुहुन्न। समयले नै त्यसको फल खाइदिन्छ। किनभने त्यो आफैं झरेर जान्छ। प्रधानमन्त्री बन्ने पुष्पकमल दाहालको इच्छा पनि त्यही आँपजस्तै भएको छ,’ उनले भने, ‘मलाई लाग्छ प्रधानमन्त्री बन्न उहाँले ढिला निर्णय गर्नुभयो।’

प्रधानमन्त्री बन्न प्रचण्डको अधिकतम प्रयास खेर जाने ओलीको भनाइ छ। ‘समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो मैले देखिरहेको छु। उहाँको चाहना पुरा हुने देख्दिनँ,’ उनले भने।

प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारिदिएको ओलीले बताए। आममतदाताले नै त्यस्तो सन्देश दिइसकेको अवस्थामा अरुले पनि समयमा कदम नचाले देश फेरि पनि मध्यावधि निर्वाचनतर्फ धकेलिने सम्भावना रहेको ओलीकाे दाबी थियाे।

‘कतिपयले इच्छा गरिरहेका छन्। पुष्पकमल दाहालजीले प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर उहाँले निर्णय लिन ढिलो गर्नुभयो,’ अध्यक्ष ओलीले भने, ‘संस्कृतमा एउटा भनाइ छ- आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा। छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने नीति श्लोक छ। त्यो भनेको लिनुपर्ने र दिनुपर्ने कुरा, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्छ। होइन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ।’

अहिलेको निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेको बताउँदै ओलीले देश फेरि मध्यावधि निर्वाचनतिर जाने सम्भावना रहेको दाेहाेर्‍याए।

‘स्वार्थ टकरावले सरकार गठन नै हुन सकेको छैन, सञ्चालन कसरी होला? सरकार चलाउने हैसियत एमालेको मात्रै छ। एमालेको राष्ट्रिय स्वार्थबाहेक दलगत श्वार्थ छैन,’ उनले भने, ‘सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेकोछ। एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएका छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =