सरकारी वकिलले दबाब र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

हिमाल प्रेस ८ पुष २०७९ १९:४३
4
SHARES
सरकारी वकिलले दबाब र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी वकिलले कुनै पनि पक्षको दबाब र प्रभावमा नपरी काम गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। राज्यको कानुन पालना गर्ने निकायले कुनै पक्षको दबाब र प्रभावमा नगरी काम गर्नुपर्ने देउवाको भनाइ छ।

‘सरकारी वकिलको कार्यालय कानुनी शासनको प्रवर्द्धन गर्ने महत्त्वपूर्ण निकाय हो,’ प्रधानमन्त्री देउवाले भने, ‘कुनै पनि पक्ष वा विपक्षको दवाव र प्रभावमा परेर काम गर्नुहुँदैन।’ सरकारवादी मुद्दामा अभियोजन गर्ने सरकारी वकिललाई व्यावसायिक दक्षता अभिवृद्धि गराउन जरुरी भएको र त्यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

कायममुकायम प्रधानन्याधीश हरिकृष्ण कार्कीले सरकारी वकिलको अनुसन्धान, अभियोजन वस्तुनिष्ट र वैज्ञानिक हुनुपर्ने बताए।

गृहमन्त्री बालकृष्ण खाणले सरकारी वकिलको व्यावसायिक दक्षताको विकास गरी आधुनिकीकरण र सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता औंल्याए। पछिल्लो समयमा अपराध नयाँ तरिकाले बढ्दै गएको हुँदा त्यसका लागि प्रविधिमैत्री जनशक्ति विकास र अभ्यास गर्नुपर्नेमा मन्त्री खाणले जोड दिए।

नेपाल बार एसोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले सरकारी वकिलबाट सही अभियोजन भए मात्र मुद्दामा सफलता पाइने बताए। विकसित देशमा सरकारी वकिलले ९० प्रतिशतभन्दा बढी सफलता पाउने गरेको उदाहरण प्रस्तुत गर्दै शंकारहित तरिकाले मुद्दा प्रमाणित हुने गरी काम गर्नुपर्ने उनको भनाइ छ।

‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ भन्ने नाराका साथ आयोजना भएको सम्मेलन सरकारी यही १० गते (आइतबार) सम्म चल्ने बताइएको छ। मुलुकी अपराध संहितालगायत नयाँ कानुन कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ र चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =