पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण

हिमाल प्रेस ७ पुष २०७९ १८:४८
6
SHARES
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जहाज अवतरण फाइल तस्बिर।

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पहिलो पल्ट विमान अवतरण भएको छ। योसँगै पोखरेलीको ४ दशक लामो सपनाले मूर्तरूप लिएको छ। आगामी साता १ जनवरी, २०२३ देखि औपचारिक उडान तयारी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो बुद्ध र यती एयरलाइन्सले डेमो फ्लाइट (प्रदर्शन उडान) गरेका हुन्।

दुवैले चालु पुरानो विमानस्थलबाट एटिआर-७२ जहाजमार्फत नयाँ विमानस्थलमा उडान भरेका हुन्। दिउँसो २ बजेतिर यतीले उडान भरेको १ घण्टापछि बुद्धले उडान भरेको हो। दुवै विमान ७० देखि ७२ सिट क्षमताका हुन्। व्यावसायिक उडान तयारीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरण भएपछि पोखरेली खुसी बनेका छन्। प्रदर्शन उडानमा दुवै विमानका यात्रु यहाँका पोखरा महानगरका मेयर, हवाई उड्डयन क्षेत्रका पदाधिकारी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायत थिए।

डेमो फ्लाइटक्रममा यती र बुद्धका जहाज उडान र अवतरण गरेका थिए। अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको दुवैतिर (पूर्व र पश्चिम) बाट जहाजको अवतरण गराइएको थियो। पुरानो विमानस्थल र नयाँ विमास्थलको दुरी मात्र ३ किलोमिटर हो।

नयाँ विमानस्थलमा यती एयरलाइन्सका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको बताए। यस्तै, बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रुपेश जोशीले बुद्धले पहिलो पल्ट पोखरा-बनारस-पोखरा उडान गर्न लागेको बताए। सुरुवातमा कम उडान भए पछि मार्चपछि लगातार उडान भर्ने उनको भनाइ छ। नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न यसरी डेमो फ्लाइट गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले बताए।

नेपाल नागरिक उयन प्राधिकरण पोखरा कार्यालयका प्रमुख विक्रमराज गौतमले विमानस्थल अब व्यावसायिक उडानका लागि तयार भएको बताए। भविष्यमा दैनिक १८ घण्टा चलाउने लक्ष्य राखिएको भए पनि अहिले दिनमा मात्र उडान हुने उनले बताए।

क्यालिब्रेसन फ्लाइटको पूर्ण विवरण आएपछि पोखराबाट हुने गरेका प्याराग्लाइडिङ उडानबारे निर्णय हुने प्राधिकरणले जनाएको छ। विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना निर्मित छन्। नयाँ वर्ष १ जनवरी अर्थात् १७ पुसदेखि नयाँ विमानस्थलबाटै साना जहाज, हेलिकप्टर र अल्ट्रा लाइटबाहेक सबै उडान गर्ने तयारी रहेको विमानस्थल प्रमुख विक्रम गौतमले बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज रहेको छ। यात्रु यसै एरोब्रिजबाट जहाज चढ्न र ओर्लन सक्ने छन्।

०७३ साल वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेका थिए। चिनियाँ निर्माण कम्पनी सीएएमसी इन्जिनियरिङले ०७४ साल असार २७ बाट निर्माणकार्य सुरु गरेको थियो।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकार र चिनियाँ सरकारको एक्जिम बैंकबीच २१ करोड २९ लाख अमेरिकी डलर लागतमा निर्माण गर्ने गरी ०७२ साल चैत ८ मा ऋण सम्झौता भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =