ज्येष्ठ सांसद जबराले सम्हाले पदभार

हिमाल प्रेस ६ पुष २०७९ १८:२०
12
SHARES
ज्येष्ठ सांसद जबराले सम्हाले पदभार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सांसदको शपथपछि संसद भवनमा पदभार ग्रहण गर्दै राणा। तस्बिर-हिमाल प्रेस

काठमाडौँ– नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबराले नयाँ वानेश्वरस्थित संघीय संसद भवन पुगेर पदभार ग्रहण गरेका छन्। बिहीबार (भोलि) हुन गइरहेको नवनिर्वाचित सांसदहरूलाई शपथ ग्रहण गराउने जिम्मेवारी पाएका राणाले संसद भवन पुगेर पदको जिम्मेवारी लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार ज्येष्ठ सांसदका रूपमा पद तथा गोपनियताको शपथ लिएका उनले संसद भवन पुगेर बिहीबार हुने शपथ ग्रहण कार्यक्रमसम्बन्धी निर्णयमा हस्ताक्षरसमेत गरेका छन्।

दोस्रो संविधानसभापछिको संसदमा दरबारको ‘भित्रिया’ मानिने राप्रपा नेता सूर्यबहादुर थापाले तत्कालीन नवनिर्वाचित सांसदलाई शपथ गराएका थिए। उक्त संविधानसभाले संविधान जारी गरेको थियो।

०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक यही मंसिरमा सम्पन्न प्रदेश तथा प्रितिनिधिसभा निर्वाचनमा निर्वाचित सांसदलाई संयोगवश सोही राप्रपामा दरबारको विरासत बोकेका नेता राणाले शपथ गराउने भएका छन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले सभामुखको भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताए। ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भुमिकालाई निष्पक्ष राख्ने उनको भनाइ छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरूबीच समन्वयात्मक भूमिका आवश्यक रहेको पनि बताएका छन्।

सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरूपलाई अघि बढाउन आफू जिम्मेवार रहेको उनको भनाइ छ। ‘सभामुखको भुमिका स्पष्ट छ। तटस्थ हुनुपर्छ। देशको भलोको लागि सबै दलबीच समन्वयात्मक भूमिका निभाउनुपर्नेछ,’ उनले भने, ‘केही दिनका लागि भए पनि मुलुकको अभिभावकको रूपमा देशलाई अघि बढाउन पहल गर्नेछु।’

संसद्ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्को अध्यक्षता ग्रहण गर्नेछन्।

प्रकाशित: ६ पुष २०७९ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =