एमाले कार्यकर्ता फकाउने विश्वप्रकाश ‘ट्रिक’

विवेक विवश रेग्मी ३० कार्तिक २०७९ ११:२९
एमाले कार्यकर्ता फकाउने विश्वप्रकाश ‘ट्रिक’

झापा- सामान्यतया उम्मेदवारहरू गाउँसहरका गल्लीमा चर्काचर्का भाषण गरेर विपक्षीलाई गाली गरिरहेका भेटिन्छन्। आफ्ना एजेन्डा प्रस्तुत गर्नेभन्दा पनि विपक्षीमाथि अनेक आरोपप्रत्यारोप लगाएर मत माग्नु अधिकांश उम्मेदवारको विशेषता नै हो।

यसमा केही अपवाद पनि हुन्छन्। त्यस्तैमध्येका एक हुन्, झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्मा।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका उनी विभिन्न आमसभामार्फत मतदातालाई आफ्नो पक्षमा मत खसाल्न आकर्षित गरिरहेका छन्। विपक्षी दलका उम्मेदवारलाई गाली नगर्न कार्यकर्तालाई आग्रह गर्दै आएका शर्माले मंगलबार मेचीनगरको बाहुनडाँगीमा सम्बोधनका क्रममा भने, ‘झापा १ भनेको मेरा लागि आमाजस्तै हो। आमाले गाली गरेर छेउ नआइज भन्दा पनि फेरि जान मन लाग्छ। एकचोटि होइन, दुई–दुईचोटि पराजित भए पनि म देश बनाउने संकल्पसहित चुनावी मैदानमा यसपटक पनि होमिएको हुँ।’

उनले आफू कांग्रेस महामन्त्री भएकाले अन्य क्षेत्रबाट निर्वाचन लड्न सक्ने वा समानुपातिकबाटै सांसद हुने सपना पूरा हुने भए पनि झापा १ का मतदाताले ‘ब्यालेट’बाट जिताएर पठाएजस्तो सन्तुष्ट नहुने बताए। उनले भने, ‘त्यसैले फेरि पनि यही क्षेत्रमा शरण पर्न आएको छु।’

शर्माले आफ्नो उम्मेदवारी राजनीतिक संस्कार परिवर्तन गर्नका लागि रहेको बताउँदै आएका छन्।

‘कतिपय साथीहरूले विश्वप्रकाश शर्माले अलिक खरो बोल्नुपर्‍यो भनेर भन्नुहुन्छ,’ उनले भने, ‘आँगन बढानुपर्‍यो भनेर निस्केको मान्छे आँगनमा फोहोर गर्न सहमत हुँदैन। म देशमा रहेको फोहोर बढार्न भनेर हिँडेको मान्छे, फोहोर संस्कार गर्न सहमत हुन्न।’

केही दिनअघि एमालेको झण्डा बोकेर हिँड्ने एक मतदाताले आफूसमक्ष कसैप्रति गाली नगर्ने र आफ्ना एजेन्डा सुनाउने नेतालाई मत दिने सुनाएको जानकारी शर्माले दिए। ‘सूर्यको झण्डा बोकेर हिँडेकी बहिनीले मलाई भनिन्, हाम्रा पार्टीका उम्मेदवारले त तपाईँलाई आरोप मात्रै लगाउनुभयो, आलोचना मात्रै गर्नुभयो,’ उनले भने, ‘तर तपाईँले त कसैको गाली गर्नुभएन, म उताको झण्डा बोके पनि यसपटक तपाईँ ढुक्क हुनुहोला, तपाईँलाई मत दिन्छु।’ उनले अहिले आफूलाई एमालेकै युवाहरू मत दिन आतुर रहेको सुनाए।

आफू बाटो निर्माण गर्न र कल्भर्ट बनाउनका लागि चुनावमा होमिएको नभई नीति निर्माण गर्ने र राजनीतिक स्तर सुधार गर्न मैदानमा उत्रिएको स्पष्ट पारे। ‘अहिले तपाईँहरू जिल्ला प्रशासन र मालपोत कार्यालय जाँदा जुन समस्या व्यहोर्दै आउनुभएको छ, त्यो अवस्था सुधार्न मेरो उम्मेदवारी हो। त्यसका लागि सिंहदरबार सुध्रन आवश्यक छ’, शर्मा भन्छन्।

बाहुनडाँगीका स्थानीय सन्तोष अधिकारीले विश्वप्रकाशको निष्ठाको राजनीतिकै कारण सहानुभूति मत प्राप्त हुने दाबी गरे। ‘उहाँ (विश्वप्रकाश) ले आजसम्म सपना बाँड्नुभएको छैन। उहाँको इमान र निष्ठाको राजनीतिकै कारण सहानुभूति मत प्राप्त हुन्छ,’ उनी भन्छन्, ‘राजनीतिक संस्कार भएको र कसैलाई नबिझाउने मान्छे भएकै कारण यसपटक हामीले उहाँलाई जिताएर पठाउनेछौँ।’

यसअघि दुईपटक यसै क्षेत्रबाट पराजित भए पनि निराश नभई मैदान नछाडेको र राजनीतिक संस्कार भएकै कारण शर्माको पक्षमा माहोल भएको उनको दाबी छ ।

शर्माको प्रचारप्रसार समितिका एक सदस्यले अहिले चुनाव प्रचारका लागि भन्दै पैसा दिन आउनेको लहर रहेको बताए। तर शर्माले आफूले कसैसँग एक पैसा नलिई चुनावमा होमिने दृढता व्यक्त गर्दै आएका छन्।

‘मैले पैसा लिएँ भने म पनि अरूजस्तै राजनीतिक संस्कारमा हुनेछु, त्यसकारण मलाई पैसा दिन आउनेहरूलाई नभेटाउनू,’ विश्वप्रकाशको भनाइलाई उद्धृत गर्दै ती सदस्यले भने।

एमालेबाट उम्मेदवार बनेका अग्नि खरेलले पटकपटक विश्वप्रकाशलाई लक्षित गर्दै चुनावी सभामा कटाक्ष गरे पनि शर्माले भने उनीविरुद्ध बोलेका छैनन्। बरु उनी विपक्षीलाई गाली नगरेर आफूलाई मत दिन एमालेकै कार्यकर्तालाई फकाउँदै छन्।

खरेललाई यहाँ ‘टुरिस्ट’ उम्मेदवारको ‘ट्याग’ लागेकाले पनि विश्वप्रकाशको पक्षमा माहोल बन्दै गएको शर्माको सचिवालयको अर्का एक सदस्यले बताए।

यस क्षेत्रमा एमालेको राम्रो संगठन भएकाले यसअघिका निर्वाचनमा पराजित भए पनि यसपटक विश्वप्रकाशले सहानुभूति मतकै कारण चुनाव जित्ने उनको तर्क छ।

२०७४ को निर्वाचनमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका राम कार्कीले विश्वप्रकाशलाई पराजित गरेका थिए।

कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माको ३३ हजार ३१० मत आएको थियो।

यसपटक भने उनै कार्की विश्वप्रकाशको सारथि बनेर चुनावी मैदानमा छन्। यसअघि शर्मालाई पराजित गरेका कार्कीको साथका कारण पनि उनलाई चुनाव जित्न सहज हुने अनुमान गरिएको छ।

यसअघि एमालेबाट रविन कोइराला चुनाव लड्ने चर्चा थियो। कोइराला यस क्षेत्रका लोकप्रिय नेता मानिन्छन्। तर एमाले अध्यक्ष ओलीले उनका विश्वासिला पात्र अग्नि खरेललाई टिकट दिएर कोइरालालई प्रदेशसभामा ‘ब्याक’ गराएसँगै यहाँका एमाले कार्यकर्ता असन्तुष्ट छन्। खरेलका लागि यो क्षेत्र नयाँ हो। खरेलले आफैँलाई मत खसाल्न पाउँदैनन् ।

कानुनमन्त्रीसमेत भइसकेका पूर्वमहान्यायाधिवक्ता खरेल पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन्। उनी यसअघि समानुपातिकबाट सांसद बनेका थिए। त्यसो त यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश भण्डारीले पनि एमालेको केही मत काट्ने आकलन गरिएको छ। यसको प्रत्यक्ष फाइदा विश्वप्रकाशलाई नै पुग्ने स्थानीय बताउँछन्।

झापामा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका कारण विश्वप्रकाशको राजनीतिक यात्रामा असर पर्दै आएको थियो। अहिले नेता सिटौला र शर्माबीच बेमेल नरहेको कांग्रेस झापाका एक नेताले बताए।

‘उहाँहरूबीच पहिलेजस्तो वैमनश्य छैन। पार्टीभित्र देखिने गरी गुटको प्रभाव पनि छैन,’ ती नेताले भने, ‘जसरी बाहिरबाट सिटौला र शर्माको बारेमा चर्चा गरिन्छ। त्यस्तो किसिमको समस्या पनि छैन। केहीकेही समस्या भए पनि चुनावका बेला यसपटक दुवै नेताले एकअर्काले जित्नुपर्ने बताउँदै आउनुभएको छ।’

२०७४ र २०७० को निर्वाचनमा सिटौलाका कारण पनि शर्माले चुनावमा हार व्यहोर्नुपरेको अधिकांशको बुझाइ छ। यसपटक भने एकले अर्कालाई सहयोग गरेको कांग्रेस नेताहरू बताउँछन्।

झापा क्षेत्र नं. १ मा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० समावेश छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =