सरकार गठनमा सकस

जसरी पनि प्रधानमन्त्री बन्ने दाउमा प्रचण्ड

हिमाल प्रेस १३ मंसिर २०७९ १७:३३
454
SHARES
जसरी पनि प्रधानमन्त्री बन्ने दाउमा प्रचण्ड

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी नयाँ सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने दाबी सत्ता गठबन्धनमा राखिसकेका छन्। त्यसो हुन नसके गठबन्धन नै तोड्न सक्ने प्रचण्डले संकेत गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारो  परेका छन्।

देउवाले केही समय आफू नै प्रधानमन्त्री हुन खोजेका छन्। त्यसो गर्दा उनलाई आफ्नै दलभित्र पनि समस्या पर्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन प्रचण्डले सुझाव दिएका छन्। दाहालले प्रधानमन्त्री नपाउँदा एमालेसँग सहकार्य गर्न सक्ने संकेत गरेपछि कांग्रेसभित्र देउवानिकट नेतामा नैराश्यता देखिएको छ। यद्यपि प्रधानमन्त्री देउवाले पनि आफ्नै तयारी गरेका छन्। प्रचण्डले यसरी फरक कोणबाट राजनीतिक गोटी चाले दोस्रो दललाई लिएर सरकार बनाउने पनि देउवाले तयारी गरेका छन्। माओवादीले देउवालाई राष्ट्रपति हुन आग्रह गर्दै प्रचण्डलाई प्रधानमन्त्रीमा स्वीकार गर्न भनेको छ।

प्रचण्डले आफूले नै देउवालाई प्रधानमन्त्री बनाएको भन्दै अब आफूलाई देउवाले प्रधानमन्त्री बनाउनुपर्ने दाबी गरिरहेका छन्। ‘अहिले उहाँ (देउवा) त राष्ट्रपति हुँदा पनि राम्रो हुन्छ,’ दाहाललाई उद्धृत गर्दै एक नेताले भने, ‘तर उहाँ दुईदुई स्थान (प्रधानमन्त्री र पार्टी सभापति) छोडेर राष्ट्रपति हुन नजाने जस्तो देखिनु भएको छ। पाँचपटक प्रधानमन्त्री भइसक्नु भएको छ। एक कार्यकाल राष्ट्रपति र पछि पुनः राष्ट्रपतिको अवसर आउन सक्छ।’

यदि परिवारबाट सरकारमा बस्न पर्ने नै भए पनि श्रीमती आरजु देउवा रहेको भन्दै देउवालाई प्रधानमन्त्रीभन्दा राष्ट्रपतितर्फ लैजान माओवादीको जोड छ। ‘हुन त एमालेसँग मिले पनि देउवालाई आउने अफर त्यही हो,’ अर्का माओवादी नेताले भने, ‘उहाँलाई राजनीतिबाट सुखद रूपमा बाहिरिने अवसर पनि हो।’ दाहालले पार्टी पनि अझै केही समय सम्हाल्नुपर्ने भएकोले प्रधानमन्त्रीमै इच्छा देखाएको ती नेताको भनाइ छ।

प्रधानमन्त्रीका प्रेस सललाहकार गोविन्द परियारका अनुसार देउवा राष्ट्रपतिमा जाने विषय छलफलमै नभएको बताए। यस्तो हल्ला गराइए पनि प्रधानमन्त्री भने देउवा नै हुने उनले ठोकुवा गरे। ‘निर्वाचन गरेर यहाँसम्म ल्याएको र २३ सिटमा खुम्चेको पार्टीलाई यो स्तरमा ल्याएको पनि देउवाको मेहनतले हो,’ उनी भन्छन्, ‘गठबन्धन बहुमतको अवस्थामा छ, देउवाले आफ्नो नेतृत्वबाहेक अर्को पाटो सोचेको हुनुहोला भन्ने लाग्दैन।’

उनले यसो भनिरहँदा पार्टीभित्रैबाट पनि देउवालाई पुनः प्रधानमन्त्री हुन दिन नहुने कुरा उठिरहेको छ। संसदीय दलमा नेता नचुनिकन प्रधानमन्त्री हुन पाइँदैन। त्यसमा देउवाको अवस्था कस्तो रहन्छ, त्यसपछि मात्र प्रधानमन्त्रीको यात्रा तय हुनेछ।

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि अब सबै तवरले अध्यक्ष प्रचण्डले नै मुलुकको नेतृत्व लिनु पर्ने देखिएको बताए। ‘गठबन्धनबाट सरकार बनाउन स्वभाविक रूपमा देउवाले दाहाललाई प्रस्ताव गर्नुपर्ने हो, यस विषयमा औपचारिक छलफल भएको छैन, भएपछि स्पष्ट हुन्छ,’ श्रेष्ठले भने, ‘कांग्रेसको नेतृत्व रहेको गठबन्धनले यतिका समय सरकार चलायो, निर्वाचन गरायो। यसका लागि धन्यवाद दिँदै पहिलो दुई वर्ष माओवादीले सरकार चलाउन पाउनुपर्छ।’

सिट संख्या

सत्ता गठबन्धन अहिलेकै अवस्थामा बहुमततर्फ गएको देखिन्छ। केही ठाउँको मतगणना बाँकी छ। कांग्रेसले प्रत्यक्षतर्फ ५२ सिट जितिसकेको छ। गठबन्धनकै अर्को दल नेकपा माओवादीले १७ सिट, नेकपा एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, जनमोर्चाले १ सिट जितिसकेको छ।

त्यस्तै कांग्रेसले समानुपातिकमा कम्तिमा ३३ सिट, माओवादीले १५ सिट ल्याउने देखिन्छ। गठबन्धनमा रहेका अन्य दलले भने थ्रेस होल्ड कटाउने सम्भावना कम छ। यही गठबन्धनसँग मिलेर चुनाव लडेको लोसपाले पनि ४ सिट जितिसकेको छ। दोलखा, बाजुरा स्याङ्जा २ को मतगणना बाँकी नै छ। यस्तो अवस्थामा गठबन्धनले केही स्वतन्त्र उम्मेदवारलाई पनि सरकारमा सामेल गराउन सक्नेछन्।

त्यस्तै जारी मतगणनामा नेकपा एमालेले प्रत्यक्षतर्फ ४३ सिट जितिसकेको छ। समानुपातिकतर्फ एमालेले ३५ सिट जित्ने देखिन्छ। एमालेसँग गठबन्धन गरेको जसपाले समानुपातिक र प्रत्यक्ष गरेर १२ सिट, राप्रपाले समानुपातिक र प्रत्यक्ष गरेर १५ सिट ल्याउने देखिन्छ।

सरकार बनाउन १३८ सांसदको समर्थन आवश्यक पर्छ। अहिलेकै अवस्थामा एमालेले सरकार बनाउन सक्ने अवस्था देखिँदैन। तर एमालेले आफूसँग गठबन्धनमा रहेका दलमा माओवादीलाई सामेल गरायो र केही सिट स्वतन्त्रको तान्न सक्यो भने सरकार बन्न सक्ने देखिन्छ। एकाएक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि कसलाई समर्थन गर्छ भन्ने कुरा चासोका साथ हेरिएको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउतलाई शेरबहादुर देउवाले भेटनका लागि काठमाडौँ बोलाइसकेका छन्। राउतको पार्टी पनि राष्ट्रिय दल भइसकेको छ। एक सिट प्रत्यक्षमा र समानुपातिकमा चार सिट पाउने सम्भावना छ। यसले पनि  देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउन कसरत गरेको स्पष्ट देखिन्छ।

प्रकाशित: १३ मंसिर २०७९ १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =