वसन्त नेम्वाङले गरिसके विजय र्‍याली, चुनाव जित्ने निश्चित छैन

हिमाल प्रेस १३ मंसिर २०७९ १३:४१
66
SHARES
वसन्त नेम्वाङले गरिसके विजय र्‍याली, चुनाव जित्ने निश्चित छैन

काठमाडौँ- एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा यसपटक प्रतिनिधिसभा सदस्य चुनिन तीव्र प्रतिस्पर्धा भयो। सत्ता गठबन्धनका उम्मेदवार भीष्मराज आङदेम्बे र नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ चुनावी मैदानमा थिए।

सुरुवाती मतगणनाबाटै आङदेम्बे र नेम्वाङबीच झिनो मतान्तर थियो। सुरुवातको ५०५७ मत गन्दा आङदेम्बेको २२२० र नेम्वाङको २०८५ मत थियो।

आङदेम्बे नेम्वाङभन्दा १३५ मतले अघि थिए। तर ७४७७ मत गन्दा नेम्वाङले मतान्तर घटाएर ३२ बनाए। त्यसबेला आङदेम्बेको ३२०६ र नेम्वाङको ३१७४ मत थियो। कांग्रेस र एमाले दुवै कार्यकर्ता आफ्नो उम्मेदवारले जित निकाल्ने दाबी गरिरहे।

यस्तै प्रतिस्पर्धा मतगणनाभर चलिरह्यो। दुई केन्द्रीयस्तरका नेता एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्नुले पनि पाँचथर यसपटक चर्चामा थियो। झन् प्रतिस्पर्धा निकै कडा भएपछि सबै ध्यान त्यतातिर मोडिनु स्वाभाविकै थियो।

कांग्रेसका आङदेम्बे १४ औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका हुन्। साथै उनी दोस्रो संविधानसभाका सभासद पनि हुन्।

यता नेम्वाङ एमालेको १० औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए।

मन्त्री बन्दा देशभर प्रशंसा पाएका नेम्वाङले यसपल्ट सहज जित निकाल्ने एमाले कार्यकर्ताको दाबी थियो। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि वाम गठबन्धनबाट आङदेम्बेलाई हराउँदै नेम्वाङले जितेका थिए।

यसपटक भने सत्ता गठबन्धन एक भएकाले आङदेम्बेले नै जित्ने कांग्रेस कार्यकर्ताको दाबी थियो। मतगणनामा पनि यस्तै झल्को निरन्तर देखिरह्यो।

२२ हजार ५३० मत गन्दा आङदेम्बेले ९७४९ मत र नेम्वाङले ९६४९ मत ल्याए। नेम्वाङ र आङदेम्बेबीच एक सय मतान्तर थियो।

सुरुवातमा नेम्वाङ पछि परे पनि मतगणना सकिँदा ४७ मतले चुनाव जिते। आङ्देम्बेले ३२ हजार ६३ मत प्राप्त गर्दा नेम्वाङले ३२ हजार ११० मत ल्याए।

गत बिहीबार राति विजयी बनेका नेम्वाङको खुसीयालीमा शुक्रबार एमालेले विजयी र्‍याली पनि गर्‍यो। तर निर्वाचन अधिकृतको कार्यालयले भने उनलाई विजयी भएको प्रमाणपत्र दिएन। नेम्वाङलाई प्रमाणपत्र नदिनुको कारण थियो– समानुपातिकको मतपेटिकामा प्रत्यक्षतर्फको मतपत्र भेटिनु।

‘हामीलाई अचम्म लाग्यो। जितिसकेपछि यस्तो भयो भन्ने कुरा हुन्छ ?’ एमालेका एक कार्यकर्ताले प्रश्न गरे। पछि सर्वदलीय बैठक बसेर समानुपातिकको मतपेटिकामा भएको प्रत्यक्षको मत गणना गर्नुपर्ने निर्णय गरिएको

हालसम्म समानुपातिकमा प्रत्यक्षको मत नेपाली कांग्रेस (रुख)मा १० मत र नेकपा एमाले (सूर्य)मा ८ मत आएको छ। अझै समानुपातिकतर्फको १० हजार मत गन्न बाँकी छ।

‘कांग्रेसको मत बढिरहेको छ। यदि एमाले कम आयो र हार्‍यो भने भोलि फेरि झगडा हुन सक्छ,’ एमालेका एक जिल्लास्तरीय नेता भन्छन्, ‘हामीले विजय र्‍याली मनाइसक्यौँ, भोलि हार्‍यो भन्न मिल्छ?’

यता निर्वाचन अधिकृतको कार्यालय भने प्रत्यक्षमा जसको बढी मत आउँछ उसैले जित्ने बताउँदै आएको छ।

निर्वाचन आयोगले सुरुमा नेम्वाङ विजयी भनेर नै आफ्नो वेबसाइटमा राखेको थियो। तर विवाद निस्किएपछि ‘अग्रता’ मात्रै लेख्यो। यता निर्वाचन आयोगले भने सर्वदलीय बैठकको निर्णयअनुसार अघि बढ्न निर्देशन दिएको छ।

यद्यपि अझै पनि कांग्रेसको मत बढिरहने हो भने नेम्वाङ हार्ने सम्भावना रहन्छ। अहिले पाँचथरका एमाले कार्यकर्ताहरू निर्वाचन अधिकृतसँग असन्तुष्ट छन्। सत्ता गठबन्धनसँग निर्वाचन अधिकृत मिलेर ‘सेटिङ’ गरेको एमालेले आरोप लगाएको छ।

प्रकाशित: १३ मंसिर २०७९ १३:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nineteen =