कलाकार श्याम बने सांसद

विजय नेपाल ७ मंसिर २०७९ १९:४७
4
SHARES
कलाकार श्याम बने सांसद वेदबहादुर गुरुङ (श्याम)।

पोखरा– कलाकार वेदबहादुर गुरुङ (श्याम) सांसद निर्वाचित भएका छन्। प्रदेशसभामा कास्की क्षेत्र १ (ख) मा नेकपा एमालेका उम्मेदवार श्याम ८ सय ६७ मतान्तरसहित बुधबार निर्वाचित भएका हुन्। मादी गाउँपालिकाका संस्थापक अध्यक्ष उनले अन्तिम मतपरिणाममा १२ हजार ६ सय ६१ र निकटतम् प्रतिस्पर्धी पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङले ११ हजार ७ सय ९४ मत प्राप्त गरेका छन्।

तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार महेन्द्र कार्कीले ३ हजार ६ सय ५६ मत प्राप्त गरेका छन् । कास्की १(ख) मा कुल ७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। आइतबार ३१ हाजर ५ सय ४४ मत खसेकोमा गणनामा ९ सय ६३ मत बदर भएको छ।

उनलाई कुशल राजनीतिककर्मी मात्र नभई कलाकारको दृष्टिकोणबाट पनि चिन्ने गर्छन्। राजनीतिसँगै लामो समय कलाकारितामा लागेका उनले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन्। विशुद्ध गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्‍याएका छन्।

सिनेमा मात्र नभई गुरुङ संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन्। ०५२ सालमा बनेको गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका थिए । त्यसपछि गोठालोमा अभिनय गरे । गोठालोमा समावेश गरेको आशामारा चुरोट बोलको गीतमा नृत्य गरे जुन चर्चित गायक युक्त गुरुङले गाएका थिए।

उनले आफ्नो निर्देशनमा हाम्रो गाउँ घर नामक गुरुङ चलचित्र बनाए। दर्जनौं चलचित्र निर्माण गरेका उनले गुरुङ फिल्म एसोसियसनमा २ कार्यकाल अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए। आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन्।

उनको राजनीति प्रवेश ०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रको ‘कु’ विरुद्धसँगै भयो। ०६२/०६३ सालको आन्दोलनमा उनले अग्रणी भूमिका नै खेले। प्रहरीको लाठ्ठीले घाइते भए। त्यसबेला २१ दिन हिरासतमा बिताएका थिए।
०६४ मा एमाले कास्की जिल्ला कमिटी सदस्य बनेका उनी ०६६ मा जिल्ला सचिवालय सदस्य, २०६७ मा राष्ट्रिय प्रतिनिधि परिषद् निर्वाचित सदस्य बने।

०६८ देखि एमाले गण्डकी अञ्चल कमिटी सदस्य बनेका उनी ०७४ पछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्यको रूपमा काम गरे। गत वर्ष एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बने। नेपाल लोकतान्त्रिक तमु संघको संस्थापक संयोजक र संस्थापक महासचिव उनी हालका अध्यक्ष पनि हुन्।

मादी गाउँपालिका अध्यक्ष छँदा त्यस क्षेत्रका सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गरेको गाउँवासी बताउँछन्।

प्रकाशित: ७ मंसिर २०७९ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =