धरानबाट बरामद ५ हजार किलो रुद्राक्ष अनुसन्धानबिनै पठाइयो काठमाडौँ

विवेक विवश रेग्मी २८ कार्तिक २०७९ ८:४९
धरानबाट बरामद ५ हजार किलो रुद्राक्ष अनुसन्धानबिनै पठाइयो काठमाडौँ

इटहरी- धरानबाट नियन्त्रणमा लिइएको ५ हजार किलो रुद्राक्ष राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान नै नगरेर केन्द्रीय कार्यालय काठमाडौँ पठाएको छ।

बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता-बिक्रेता स्पष्ट नभएको एव‌ं शंकास्पद रूपमा ढुवानी गरिएको पाइएपछि धरानबाट दुईवटा पिकअप गाडीलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो। तर, आइतबार राजस्व अनुसन्धान कार्यालयले इटहरीमा अनुसन्धानबिनै उक्त सामानसहित राजस्व अनुसन्धान विभाग केन्द्रीय कार्यालय काठमाडौँमा पठाएको हो।

नेपालबाट चीनतर्फ लैजाँदै गरेको सो रुद्राक्षसहित बागमती प्रदेश ०१-०२६ च ५६०२ र प्रदेश १-०२-००२ च ४४३९ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिइएको थियो। एउटा गाडीमा २ हजार ५ सय किलोका दरले ५ हजार किलो रुद्राक्ष रहेको बताइएको छ।

क्रेता-बिक्रेता स्पष्ट नभएको र मोक्ष रुद्राक्ष भण्डारले आफ्नै नाममा बिल काटेको भन्दै राजस्व कार्यालयको टोलीले सो गाडीहरू नियन्त्रणमा लिएको थियो। संखुवासभाबाट आएको उक्त गाडीमा रुद्राक्षका क्रेता-बिक्रेता तत्काल नछुट्टिएको र ‘क्लियरिङ’ मार्फत कार्यालयले नियन्त्रणमा लिएको थियो।

यो विषय राजस्व अनुसन्धान कार्यालय इटहरीमै अनुसन्धान हुन सक्ने भए पनि आइतबार नै राजस्व अनुसन्धानले काठमाडौँ पठाएको हो। काठमाडौँ पठाएपछि यो विषयमा ‘चलखेल हुन सक्ने’ सम्भावना बढेको स्रोतले जनाएको छ। स्रोतका अनुसार इटहरीमै अनुसन्धान गरेर जाँचबुझ हुने विषयलाई काठमाडौँ पठाएपछि बिचौलियाले चलखेल गर्न सक्छन्।

‘क्रेता र विक्रेता नखुलेको भन्ने सूचनादाताले दिएको सूचना हो,’ आन्तरिक राजस्व कार्यालय धरानका एक कर्मचारीले भने, ‘यसको कारोबार विदेशी नागरिकसँग जोडिएको भन्ने कुरा आएको छ, जाँचबुझकै क्रममा रहेको हुनाले यसै भन्ने अवस्था छैन।’

यता, राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाले भने शनिबार आफूहरूकहाँ गाडीसहित रुद्राक्ष ल्याइएको र यहाँबाट अनुसन्धानका लागि काठमाडौँ पठाइएको बताए।

‘नेपाली किसानको उत्पादनसँग जोडिने भएको र विदेशी मुद्रा नेपाल भित्रिने भएकाले हामीले अनुसन्धान गर्ने भन्दा पनि केन्द्रीय कार्यालयमार्फत नै अनुसन्धानका लागि पठाएका हौँ,’ उनले भने, ‘चाइना (चीन) जाने माल तलबाट जाँदैन, फ्लाइटबाटै जान्छ, बेच्न र खरिद गर्न पाइन्छ, तर यहाँ बीचको मान्छे मात्रै भेटिएको र क्रेता-बिक्रेता तत्काल नखुलेको कुरा आएको छ।’

उनले रुद्राक्षको सन्दर्भ मूल्य नतोकिएकाले कति मूल्यको भनेर यकिन नभए पनि रुद्राक्ष नेपालबाट चीन लैजाँदा एक केजी बराबर एक रूपैयाँ राजस्व बुझाउनुपर्ने बताए।

‘भारतबाट नेपालतिर छिरेको भए गम्भीर कुरा हुन्थ्यो, तर नेपालबाट बाहिर जाने सामानले विदेशी मुद्रा भित्रिने कुरा हो,’ ओझाले भने, ‘मोक्ष रुद्राक्ष भण्डार नामक कम्पनीबाट आफ्नै नाममा बिलिङ भएकाले समस्या भएको हो, त्यसैले हामीले अनुसन्धानका लागि केन्द्रीय कार्यालयमै पठाएका छौँ।’

नेपालमा रुद्राक्षको सन्दर्भमा मूल्य नतोकिए पनि चिनियाँ मूल्य भने एक किलो बराबर १५ देखि २० हजार रूपैयाँसम्म रहेको स्रोतले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७९ ८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =