तीन उम्मेदवार र आठ कर्मचारीलाई आयोगले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस २ मंसिर २०७९ ५:१७
तीन उम्मेदवार र आठ कर्मचारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ– स्थिर समयमा चुनावी प्रचार-प्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले शुक्रबार (आज) तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ।

आयोगले शुक्रबार (आज) पत्रकाट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो। आयोगका अनुसार बारा ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही क्षेत्र ४ (२)का लागि प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनललाई स्पष्टीकरण सोधिएको छ। निर्वाचनको स्थिर अवधि सुरु भइसकेको अवस्थामा प्रचार-प्रसार जारी राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

यस्तै  प्यूठान जिल्लाबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य थापालाई आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ। मीन बुढा (भेलुबाजे) लाई दुई हजार दिई आफ्नो निर्वाचन प्रचार-प्रसार गराएको विषयमा आयोगले थापासँग स्पष्टीकरण मागेको हो।

आयोगले सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहलाई पनि स्पष्टीकरण सोधेको छ। सचिव सिंहले दाङ गएर मतदाता प्रभावित गर्ने गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।

छिपहरमाई गाउँपालिका पर्साका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई पनि स्पष्टीकरण सोधिएको छ। नगरपालिकाले गत भदौ २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो।

यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका सुदर्शन बस्नेत, धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छापूर्ण राई र किरण घिमिरे, डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण सोधिएको छ। उनीहरूले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचार-प्रसार गरेको तथा चुनावी प्रचार-प्रसारमा संलग्न भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमार्फत उजुरी परेको थियो। आयोगले इन्द्रसरोवर गाउँपालिका-४, मकवानपुरको पञ्चकन्या माविका शिक्षक ऋषि पुडासैनीलाई पनि स्पष्टीकरण सोधेको छ। पुडासैनीले राजनीतिक दलको सभा, सम्मेलन तथा जुलुस र प्रचार-प्रसारमा सहभागी भएको भन्ने उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

यस्तै आयोगले शुक्रबार (आज) नै गण्डकी प्रदेशसभा सदस्य मनाङ (२)का उम्मेदवार एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङला ई२५ हजार जरिवानासमेत गरेको छ।

गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ ..३० लाखमा नेपालमा चुनाव जित्छ यार’. मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ’ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो।

गुरुङले एक अन्तर्वार्ताका क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्न माध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस,काठमाडौँका खिलराज सापकोटा, पशुपति आधारभूत विद्यालय सुनकोसी गाउँपालिका-५, मुल्कोट, सिन्धुलीकी निर्मला श्रेष्ठ, मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदीलगायतलाई स्ष्टीकरण सोधेको छ।

यस्तै कात्तिक ३० गते खिजिदेम्बा गाउँपालिका-७ ओखलढुंगाको हिमगंगा माविका शिक्षक रामकुमार बस्नेत, नेपाल कमर्स क्याम्पस मीनभवनका क्याम्पस प्रमुख ध्रुव सिलवाल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक प्रमिला देवानलगायतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

यसैबीच निर्वाचन आचारसंहिताविपरीत विभिन्न जिल्लामा भइरहेका गतिविधि नियन्त्रण गर्न तथा आचारसंहिता उल्लंघन गर्नेकार्यमा संलग्नलाईकारबाही गर्न आयोगले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ।

शुक्रबार बर्दिया, संखुवासभा र पश्चिम नवलपरासी जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा कञ्चनपुर, प्युठान, मुस्ताङ, नुवाकोट र दार्चुलाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेख्दै निर्वाचन आचारसंहिताविपरीत क्रियाकलापविरुद्ध आवश्यककारबाही गरी जानकारी गराउन निर्देशन दिएको हो।

संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेओइसी)मार्फत प्राप्त भएको सूचनाका आधारमा ती स्थानका अधिकारीहरूलाई आयोगले निर्देशन दिएको जनाइएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा झन्डा तोरण टाँसेको पाइएको, प्युठानमा पालिकाका पदाधिकारीहरूले आफ्नो पालिकाभित्र गठबन्धनका तर्फबाट प्रचार-प्रसारमा संलग्न भएको, बर्दियामा जिल्लाभित्र विद्यालयतर्फका मतदानमा खटिएका ६ जनालाई सामाजिक सञ्जालमा आचारसंहिताविपरीतकार्यहरू गरेको जानकारी जोओइसीले आयोगलाई गराएको थियो।

यस्तै पश्चिम नवलपरासीको बाक्वाणी मावि सुनवल (ख) केन्द्रका मतदान अधिकृतले आचरणविपरीत मादक पदार्थ सेवन गरेको, मुस्ताङमा जिल्लाभित्र केही स्थानमा पर्चा पम्प्लेट टाँस गरेको, नुवाकोटको लिखु गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तादी गाउँपालिकाको अनुगमन गर्दा केही स्थानमा ब्यानर, फ्लेक्स र झन्डाहरू लगायतका प्रचार-प्रसारका सामग्रीहरू देखिएको, संखुवासभाका मतदान अधिकृतले सामाजिक सञ्जालमा प्रचार-प्रसार गरेको दार्चुलाको महाकाली नगरपालिका-४ खलंगामा नेकपा एमाले द्वारा मोटरसाइकल र्‍याली आयोजना गरिएकोलगायत सूचना आयोगलाई प्राप्त भएको थियो।

आयोगले यस्ता गतिविधिमा संलग्नलाईकानूनअनुसार आवश्यककारबाही गरी आयोगलाई जानकारी गराउन पनि निर्देशन दिएको छ।

प्रकाशित: २ मंसिर २०७९ ५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 7 =