रन्जिता श्रेष्ठ, जोगाउलिन् त जेलमा रहेका पतिको साख?

हिमाल प्रेस १ मंसिर २०७९ ५:४३
रन्जिता श्रेष्ठ, जोगाउलिन् त जेलमा रहेका पतिको साख?

काठमाडौँ- काठमाडौँमा जन्मिएकी रन्जिता श्रेष्ठले कच्चा उमेरमै कैलालीका रेशम चौधरीसँग प्रेम विवाह गरिन्। लामो समय रेडियो पत्रकारिता गरेकी उनी अहिले राजनीतिका कारण चर्चामा छिन्।

नवगठित नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष उनी यसपटक कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छिन्। २०७४ सालमा रेशम चौधरीले सानदार जित हासिल गरेको यस क्षेत्रमा यसपटक चौधरी पत्नी रन्जिताले स्थापित दलहरूलाई चुनौती दिएकी छन्।

२०३९ फागुनमा काठमाडौँको रैथाने नेवार परिवारमा जन्मिएकी रन्जिता रेडियो नेपालमा कार्यरत रेशम चौधरीसँग विवाह गरेपछि त्यही क्षेत्रमा आइन्। रेडियो नेपाल, रेडियो सगरमाथा, रेडियो सिटी ९८.८ र इमेज च्यानललगायत संस्थामा काम गरेपछि उनी कैलालीको टीकापुरमा रेशमले सञ्चालनमा ल्याएको फूलबारी एफएममा आबद्ध भइन्। २०७२ को टीकापुर घटनापछि फूलबारी एफएम आगजनीमा पर्‍यो।

संविधानसभाबाट नयाँ संविधान आउनुअघि सुदूरपश्चिमी तराईका थारू समुदाय पहिचानसहितको संघीयताका लागि आन्दोलन गरिरहेका थिए। त्यसको विरोधमा ‘अखण्ड सुदूरपश्चिम’ आन्दोलन पनि चर्कियो। त्यसैक्रममा ७ भदौ २०७२ मा टीकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी हिंसात्मक घटना घट्यो।

उक्त घटनाको दोषी भन्दै सरकारले मुद्दा दायर गरेपछि रेशम चौधरी भूमिगत भए। भूमिगत अवस्थामै कैलाली-१ बाट २०७४ को प्रतिनिधिसभा निर्वाचन लडेका उनी अत्यधिक मतले विजयी बने। त्यसबेला उनले ३४ हजार ३४१ मत पाउँदा नेकपा (एमाले)की मदनकुमारी शाह १३ हजार ३०४ मतका साथ निकटतम प्रतिद्वन्द्वी बनेकी थिइन्। चौधरीको त्यो विजयलाई कतिपयले थारू समुदायमाथि राज्यसत्ताले गरेको ज्यादती विरुद्धको प्रतिक्रियाको रूपमा अथ्र्याएका थिए।

जिल्ला अदालत र उच्च अदालतले टीकापुर घटनामा दोषी ठहर गरेपछि चौधरी संसद जान भने पाएनन्। अन्ततः प्रहरी सम्पर्कमा आएका उनलाई जेल चलान गरेर त्यहीं प्रतिनिधिसभा सदस्यको शपथ खुवाइयो।

चौधरीको पुनरावेदन सर्वोच्च अदालतमा विचाराधीन छ। मुद्दा नटुंगिएकाले पार्टी अध्यक्ष वा उम्मेदवार बन्न नपाएपछि चौधरीले श्रीमती रन्जितालाई अघि सारे। २०७८ पुसमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष र अहिले कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रन्जिता श्रेष्ठ बनिन्।

यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरी र नेकपा (एमाले)बाट तपेन्द्रबहादुर रावल प्रतिस्पर्धामा छन्। गत स्थानीय चुनावमा वडाअध्यक्षका उम्मेदवारहरूले यो क्षेत्रमा पाएको दलगत मतमा नागरिक उन्मुक्ति पार्टी अगाडि छ। नागरिक उन्मुक्तिले १७ हजार १९३, नेपाली कांग्रेसले ११ हजार ६७८, एमालेले १० हजार ३२२, नेकपा (माओवादी केन्द्र)ले ६ हजार ९३० र नेकपा (एकीकृत समाजवादी)ले २ हजार २३२ मत पाएका छन्।

यो चुनावी नतिजाले कैलाली-१ मा रन्जिता श्रेष्ठलाई अनुकूल अवस्थामा देखाउँछ। सत्तामा रहेका दलहरूको गठबन्धन चाहिँ उनका लागि चुनौती भएको छ। कैलालीमा विजयी भएर थारू आन्दोलनमात्र होइन, जेलमा रहेका पतिको साख जोगाउन उनले गठबन्धनकोमात्र नभएर एमालेको पनि भोट तान्नुपर्ने देखिन्छ।

प्रकाशित: १ मंसिर २०७९ ५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =