व्यवसायमा जस्तै राजनीतिमा पनि सफल होलान् अर्बपति चौधरी?

हिमाल प्रेस १ मंसिर २०७९ ५:४०
व्यवसायमा  जस्तै राजनीतिमा  पनि सफल होलान् अर्बपति चौधरी?

काठमाडौँ- नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीले यसपटक समानुपातिक सांसद बन्न चाहेनन्। उनी यसपालि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट नवलपरासी–१ बाट निर्वाचन लड्दै छन्।

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका ६७ वर्षीय चौधरी आफ्नो निर्वाचन क्षेत्रमा चुनावी दौडधुप गरिरहेका छन्। यो दौडधुपमा उनले आफ्नो ‘फेवरेट’ रेन्ज रोभर भने प्रयोग गरिरहेका छैनन्। सधैँ सुट–बुटमा सजिने चौधरी कहिले पैदलै, कहिले तीनपांग्रे टुकटुके त कहिले कार्यकर्ताको मोटरसाइकलको पछाडि बसेर मतदाताको घरदैलोमा पुगिरहेका छन्। किसानको खेतमा गएर ट्रयाक्टर पनि चलाइरहेका छन्।

विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्ने फोर्ब्स म्यागजिनका अनुसार चौधरी ग्रुप र सीजी कर्प ग्लोबलका अध्यक्ष रहेका चौधरीको १.५ बिलियन डलर (१ खर्ब ९८ अर्ब रुपैयाँ) सम्पत्ति छ।

उनी मातहत १६० कम्पनी छन्, १२३ वटा ब्रान्ड चौधरीको व्यवसायमा जोडिएका छन्। ५ वटै महाद्वीपका २७ देशमा चौधरी ग्रुपको उपस्थिति छ। चाउचाउको विश्व बजारमा चौधरीको वाइ–वाइ ब्रान्डको २.६ प्रतिशत हिस्सा छ।

उद्योग, व्यापार, पर्यटन, शिक्षा, मनोरञ्जन, वित्त, सञ्चार र निर्माण क्षेत्रमा लगानी गरेका चौधरीले नवलपरासीमा शाश्वत धाम पनि बनाएका छन्। उनले आत्मकथा, राजनीतिसँग जम्काभेट र उद्यमीका आँखा शीर्षकका किताब पनि प्रकाशित गरेका छन्।

पञ्चायतकालमा रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्र शाह र सूर्यबहादुर थापासँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि नेकपा (एमाले)सँग नजिकिएका थिए। तर २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसमा प्रवेश गरे। त्योसँगै उनी मधेशीको कोटामा समानुपातिक सांसद र कांग्रेसको चौधौँ महाधिवेशनबाट मधेशी कोटाबाटै केन्द्रीय सदस्य चुनिए।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतअनुसार चौधरीले नवलपरासी–१ मा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ।

उक्त निर्वाचनमा यो क्षेत्रमा एमालेले २६ हजार ७७९ मत पाएको थियो। त्रिपाठीको नेपाल प्रगतिशील पार्टीले ४ हजार ६८१ र जनता समाजवादी पार्टीले ३ हजार ५३९ मत पाएका छन्।

त्यस्तै, कांग्रेसले ३० हजार ३४२, माओवादी केन्द्रले ५ हजार ३४७, एकीकृत समाजवादीले १ हजार १४१ र राष्ट्रिय जनमोर्चाले २६० मत पाएको थियो। यसअनुसार नवलपरासी–१ मा सत्ता गठबन्धनसँग ३७ हजार ७२ मत छ। यो आँकडा चौधरीका लागि अनुकूल देखिन्छ।

प्रकाशित: १ मंसिर २०७९ ५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − seven =