काठमाडौँ- दसैँको मुखमा बजारमा चिनीको हाहाकार भएको छ। बजारमा चिनी नपाइएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिपरिवार दुई किलोका दरले चिनी बिक्री गरिरहेको छ। जसले गर्दा साल्ट ट्रेडिङका बिक्री कक्षमा लामो लाइन देखिन्छ।
दसैँ अधिकांश नेपालीले धुमधामसँग मनाउने चाड हो। यो बेला तुलनात्मक रूपमा चिनीको खपत बढी हुन्छ। तर सरकारी अकर्मण्यतका कारण यही बेला चिनी आपूर्ति पर्याप्त हुन सकेको छैन।
दुई सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम खाली नहुँदासम्म सरकारले चिनी आयात गर्ने अनुमति दिएन। जसको कारण चाडबाडको समयमा बजारमा चिनीको हाहाकार मच्चिएको छ।
नेपालमा १० वटा मिलले १ लाख २० हजार टन चिनी उत्पादन गर्छन्। यसबाहेक हरेक वर्ष करिब १ लाख टन बराबर चिनी आयात हुन्छ।
त्यसो त भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीलाई १०/१० हजार टन चिनी आयातको अनुमति दिने निर्णय गरेको थियो। तर उक्त चिनी दसैँ अगाडि बजारमा आउन सकेन।
उद्योगीहरूले गत साउन पहिलो साता नै ४० हजार टन चिनी आयातका लागि सरकारलाई अनुरोध गरेका थिए। उद्योगीहरूको अनुरोधपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १८ र ३१ गते चिनी आयात गर्नुपर्ने रायसहितको फाइल अर्थ मन्त्रालयमा पठाएको थियो। तर अर्थ मन्त्रालयले उक्त फाइल अगाडि बढाउन चाहेन।
लामो समयपछि भदौ २७ गते बल्ल अर्थ मन्त्रालयले सहमति दियो। त्यो पनि वाणिज्य मन्त्रालयले मागकोभन्दा आधा मात्रै। त्यसपछि बल्ल उद्योग मन्त्रालयले मन्त्रिपरिषद्मा अनुमोदनका लागि फाइल पठायो र मन्त्रिपरिषद्ले आयातको अनुमति दियो।
ढिला गरी आयातको अनुमति दिएपछि दुई सरकारी कम्पनीले चिनी समयमै आयात गर्न सकेनन्। जसको परिणाम बजारमा चिनीको चर्को अभाव छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अर्थ मन्त्रालयको ढिलासुस्तीका कारण चिनीको अभाव भएको बताए। उनले भने, ‘आज मात्रै ८० क्विन्टल चिनी खुद्रा व्यवसायीकहाँ पुगेको छ। २० हजार टन चिनी केही दिनमै नेपाल आइपुग्नेछ।’

                                             
                                             
                                             
                                             

