कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता

हिमाल प्रेस ३० असोज २०८० ९:१५ | Tuesday, October 17, 2023
कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाएका नेपालीका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– एनआरएनका अध्यक्ष कुल आचार्यलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान बालुवाटारमा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरेका हुन्।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु भएको छ।

नपेाल नागरिकता ऐनमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिने व्यवस्था छ। विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था ऐनको दफा ७ मा छ।

यसरी पाइन्छ नागरिकता

गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले देहायका कागजात संलग्न राखी तोकिएको अधिकारी समक्ष तोकिएबमोजिम निवेदन दिनुपर्नेछ :

(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण,

(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,

(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,

(घ) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण,

(ङ) नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र

साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको लागि उपदफा (२) बमोजिम निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत पेस गर्नुपर्ने व्यवस्था ऐनमा छ। यस्तै निवेदन प्राप्त भएपछि तोकिएको अधिकारीले आवश्यक सबुद प्रमाण बुझी निजलाई तोकिए बमोजिम गैरआवासीय नेपाली नागरिकता दिनेछ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनु पर्नेछ। गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुट्टो विवरण दिई त्यस्तो नागरिकता प्राप्त गरेमा वा निजले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता रद्द गर्ने व्यवस्था ऐनमा छ।

प्रकाशित: ३० असोज २०८० ९:१५ | Tuesday, October 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast