काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन्।
अध्यक्षसहित पदाधिकारी र सदस्यहरू सर्वसम्मत चयन भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए।
उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत भएका छन् । हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत भएका हुन् ।
सचिवमा कैलालीका रणबहादुर चन्द पनि सर्वसम्मत चयन भएका छन्। सचिवका प्रत्यासी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द पनि सर्वसम्मत भए ।
उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर विक र उपसचिव (महिला)मा कैलालीकी भागरथी विष्ट चयन भएका छन् ।
उपसचिव (खुल्ला)मा रामदत्त जोशी, अशोककुमार चन्द, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका छन्। उपसचिव (महिला)मा कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको स्रोतले बतायो ।