आरती साह मृत्यु प्रकरण : हत्या आरोपित पति र ससुरा तारेखमा रिहा

हिमाल प्रेस १९ असोज २०८० १८:२४ | Friday, October 6, 2023
आरती साह मृत्यु प्रकरण : हत्या आरोपित पति र ससुरा तारेखमा रिहा आरती साहको न्यायका लागि माइतीघर मण्डलमा धर्ना दिइँदै। फाइल तस्बिर।

जनकपुरधाम- जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आरोपित पति मोतीबाबु साह र ससुरा मदन मोहन साह रिहा भएका छन्। उच्च अदालत जनकपुरधामको आदेशमा दुवै साधारण तारेखमा रिहा भएका हुन्।

मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले मोतीबाबु र मदन मोहनलाई साधारण तारेखमा छोड्ने आदेश दिएको उच्च अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९, थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएका थिए। जाहेरीपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदन मोहनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

उनीहरूविरुद्ध असार १ गते जिल्ला सरकारी वकिल कार्यालय धनुषाले जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको थियो। थुनछेक बहसपछि असार ५ गते जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। तर उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको कारण देखाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरी रिहा गर्न आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादीहरु मोतीबाबु साह र मदन मोहन साह भन्ने मदन मोहन व्याहुत साह सुडीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम मुद्दा पुर्पक्षको लागि तारिखमा राखी मुद्दाको कारबाही किनारा गर्नुहोला।’

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो। दाइजोको निहुँमा पति, ससुरा र सासुले आरतीलाई यातना दिई हत्या गरेको माइती पक्षले दाबी गर्दै आएका छन्।

गत ७ जेठमा आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले घटना शंकास्पद रहेको भन्दै जनकपुरधामको काव्या अस्पतालबाट आरतीको शव नियन्त्रणमा लिएको थियो। माइतीपक्षले आरतीको हत्या भएको भन्दै पति र ससुराविरुद्ध उजुरी दिएका थिए।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भाइ, मामा लगायत करिब तीन महिनादेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आएका थिए। आफूहरूमाथि प्रहरीले नै कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै उनीहरूले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्का, तत्कालीन डीएसपी वेदप्रसाद गौतमसहितलाई कारबाहीको मागसमेत गर्दै आएका छन्।

प्रकाशित: १९ असोज २०८० १८:२४ | Friday, October 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast