काठमाडौँ- झापा र सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । झापामा चारजना र सुनसरीमा ६ जना पक्राउ परेका हुन् ।
झापाको दमक नगरपालिका–६, बसपार्क लाइनस्थितमा टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ३८ वर्षीय कुलबहादुर भुजेलसमेत चारजनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र एक बुक ताससहित पक्राउ गरको हो ।
त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालका–२, सैनिक चोक बस्ने ४२ वर्षीय दिपेश भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टराईसमेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख १७ हजार ५०० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।