स्वास्थ्य मन्त्रालय
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघसँग असोज १३ गते भएको सहमति कार्यान्वयन गर्न काम थालिसकेको जनाएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो।
स्वास्थ्यकर्मीमाथि बारम्बार कुटपिट र दुर्व्यवहार भइरहेपछि अस्पताल जान छाडेर चिकित्सकहरू आन्दोलित भएका थिए। सरकारसँग ६ बुँदे सहमतिपछि चिकित्सकहरू काममा फर्किएका थिए।
मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ लाई संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कानुन शाखालाई नेतृत्व दिई यथाशीघ्र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जनाएको छ।
यस्तै चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सेवासुविधामा न्यूनतम सरकारीसरह एकरूपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा पनि काम अघि बढाइएको छ।
मन्त्रालयका अनुसार यस विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा रहेको समितिका सदस्यहरूलाई यथाशीघ्र पत्राचार र समन्वय गर्न नीति, योजना तथा अनुगमन महाशाखालाई तोकिएको छ।
स्वास्थ्यकर्मीहरुमाथि बारम्बार भैरहेको कुटपिट र दुर्व्यवहारका घटनाको कारक तत्व पहिचान एवं निराकरण गर्न आवश्यक पर्ने नीतिगत र कानुनी सुधारका विषय समेटी प्रतिबेदन पेस गर्न, स्वास्थ्य क्षेत्रको प्रबुद्ध व्यक्तिहरु छनोट गरी उच्चस्तरीय कार्यदल गठन गर्न नीति, योजना तथा अनुगमन महाशाखालाई पहल गर्न भनिएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउन समितिको बैठक कम्तीमा हरेक २ हप्तामा १ पटक सञ्चालन गर्ने निर्णय भएको सबैमा जानकारी गराइन्छ।’


