म्याग्दीको महभीर वस्ती नै पहिरोको जोखिममा

हिमाल प्रेस १२ असोज २०८० १०:०१ | Friday, September 29, 2023
म्याग्दीको महभीर वस्ती नै पहिरोको जोखिममा

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–४ महभीरको बस्ती पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ।

वडासदस्य गर्वे गुरुङले काले कामी र तुलबहादुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिए। ‘पहाडको फेदीबाट सुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुङखोला सम्म पुुगेको छ’, उनले भने, ‘ट्यांकी, मुहान र पाइपलाइनमा क्षति पुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ।’

फूलबारी–महभीर–च्युरीबोट सडक अवरुद्ध भएको छ। पहिरोले गाउँको बीचमा ठूलाठूला खोल्सी बनाएको छ। खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ। दुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ।

गत बुुधबार राति आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए। ‘हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो’, तुलबहादुरले भने, ‘११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौँ।’

काले कामीले पहिरोले पुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताए। पूर्णदेवी घर्ती, सहबहादुुर घर्ती, सहबहादुर सुनार, लालबहादुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुनार, वीरबहादुर कामी, मुक्तिराम सुनार, कुलप्रसाद घर्ती, भीमप्रसाद सुनार, रहमन घर्ती र कुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुरुङले बताए।

सो ठाउँमा गत हिउँदमा पनि सुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो। पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले निरिक्षण गरेका थिए।

‘पहिरोबाट घरवास गुुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छ’, उनले भने, ‘घर पुनःनिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुसार सहयोग गर्छौं।’

तत्कालीनरूपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुन नदिने र दीर्घकालीन रूपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उनले बताए। रासस

प्रकाशित: १२ असोज २०८० १०:०१ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast