प्रधानमन्त्रीले भने : चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही हुन्छ

हिमाल प्रेस २८ भदौ २०८० १७:३० | Thursday, September 14, 2023
प्रधानमन्त्रीले भने : चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही हुन्छ

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुने बताएका छन्। नेपाल चिकित्सक संघको बिहीबार ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक स्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जोकोहीलाई उन्मुक्ति नदिने बताएको उनले जानकारी दिए।

संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ। २७ भदौमा हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेका बेला सांघातिक आक्रमण गरिएको थियो।

उक्त घटनाको विषयलाई लिएर संघको टोलीले प्रधानमन्त्री प्रचण्डसँग टोलीले भेट गरेको थियो। संघले नियमित रूपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वाभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ।

डेंगी संक्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरूले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको २५ साउनमा निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए।

प्रकाशित: २८ भदौ २०८० १७:३० | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast