कम्युनिस्ट विरोधमा खोलिएको मुनिज नेपालमा भने कम्युनिस्टकै दौँतरी

हिमाल प्रेस २२ भदौ २०८० १७:५५ | Friday, September 8, 2023
कम्युनिस्ट विरोधमा खोलिएको मुनिज नेपालमा भने कम्युनिस्टकै दौँतरी

काठमाडौँ– काठमाडौँमै ‘होली वाइन’ सेवन गरेकाहरूले ‘युनिफिकेसन चर्च’ नचिन्ने  कुरै भएन। यतिखेर त्यस चर्चको चर्चा जापानबाट आएको छ। केपी शर्मा ओली, माधवकुमार नेपाल, शेरबहादुर देउवा, एकनाथ ढकालसमेतले जानिराख्दा हानि नहुने जानकारी बेलायती पत्रकार रिचर्ड लोयड पेरीले टोकियोबाट पठाएर छपाएका रहेछन्ः-

यस चर्चको जापानी हाँगो भाँच्चिनै लागेको छ। जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको सन्दर्भमा चर्चबारेको विवाद सतहमा आएपछि सरकारले यसले पाउँदै आएको ‘धार्मिक संस्था’ को मान्यता खारेज गर्ने तयारी गरेको छ।

सन् २०२२ को जुलाईमा आबेलाई गोली हानेर ढाल्ने ४२ वर्षीय तेत्सुया यामागाचीले उसको आक्रोश आबेप्रति नभैकन युनिफिकेसन चर्चप्रति रहेको कुरा प्रहरीसमक्ष स्वीकार गरेका थिए। आबे र उनको लिबरल डेमोक्र्याटिक पार्टीको साँठगाँठ यस चर्चसँग भएको हुनाले यामागाची क्रोधित भएका रहेछन्। (सन् १९५४ मा दक्षिण कोरियाका सन म्योङ मुनले स्थापना गरेको युनिफिकसन चर्चलाई ‘मुनिज’ भनेर पनि चिनिन्छ।)

धार्मिक संस्थाको मान्यता खारेज भएसँगै अब मुनिजका गतिविधि अन्य व्यापारिक कारोबारसरह करको दायरामा पर्नेछन् र त्यसले चर्चको आर्थिक जग हल्लिनेछ। यसका क्रियाकलापबारे प्रहरीको छानबिनलाई असहयोग गरेबापत दण्ड/जरिबाना पनि तिर्नुपर्नेछ। सिन्जो आबेको हत्यापछि कुनै समय उनले नेतृत्व गरेको पार्टी (एलडीपी) सँग मुनिजको सम्बन्ध छताछुल्ल भएर बाहिर आएको हो। कुनै बखतको प्रख्यात संस्था भनिने मुनिज आबेको हत्यापछि कुख्यात गिरोहको रूपमा चिनिँदै आएको छ।

आबेको हत्याको कारण मुद्दा खेपिरहेका यामागाचीका अनुसार निजकी विधवा (तर सम्पन्न) आमाको सारा श्रीसम्पत्ति ललाई‍‍-फकाई मुनिजले हात पारेको र त्यसपछि उनलाई दरिद्र अवस्थामा पुर्‍याई छोडिदिएको थियो।

एलडीपीका ३७९ संसद् सदस्यमध्ये १७९ जनाको मुनिजसँग सम्बध रहेको कुरामा आबेको हत्यापछि पार्टी नै साबित भएको थियो। कतिपय पार्टी सदस्यहरूले मुनिजका स्थानीय शाखा, प्रशाखाहरूबाट चुनावी प्रचारमा सहयोग लिने गरेका थिए।

युनिफिकेसन चर्च दक्षिण कोरियामा हजारौँ जोडीहरूको सामूहिक विवाह गराउने ‘पुण्यकार्य’मा समेत संलग्न रहने गरेको चर्च हो। हालै आएर जापानको एलडीपीले आफूलाई युनिफिकेसन चर्चबाट अलग गरेको छ।

यसै वर्ष पारित एक ऐनअनुसार आइन्दा राजनीतिक दलहरूले धार्मिक समुदायबाट चन्दा, सहयोग आदि लिन पाउने छैनन्। चन्दा दिए चिन्ता कम हुन्छ भनेर मानिसलाई उक्साउन पनि पाइने छैन। यस चर्चको प्रचारमा खटिएका मानिसले सोझासाझा जापानीलाई ठग्ने क्रममा ‘मरेपछि नर्क नै जानुपरेछ भने पनि त्यहाँ रहँदा भोग्नुपर्ने दुःखकष्ट घट्छ’ भनेसम्मको आश्वासन पनि दिने गरेका रहेछन्। अहिले सांस्कृतिक मामिला हेर्ने सरकारी निकाय यसबारे पनि छानबिन गर्दैछ।

विडम्बना! सन् १९५४ मा कम्युनिस्टको विरोधमा खोलिएको मुनिज नेपालमा भने कम्युनिस्ट भनिनेहरूकै दौँतरी बन्न पुग्यो। पुगेकै छ।

प्रकाशित: २२ भदौ २०८० १७:५५ | Friday, September 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast