झलनाथ खनाल ‘राष्ट्रपति बन्न तयार’

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:२७
झलनाथ खनाल ‘राष्ट्रपति बन्न तयार’

इलाम- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताएका छन्।

इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार खनालले पत्रकारसँगको कुराकानीमा भने, ‘राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन।’

उनले निर्वाचनपछि एउटैमात्र दलको सरकार नबन्ने बताए। ‘अब एउटै दलको सरकार त बन्दैन तर गठबन्धनको बहुमत आउने भएकाले सहमतिमा भागबन्डा मिलाउँदा मलाई जुन जिम्मेवारी पर्छ त्यो बहन गर्न तयार छु’, उनले भने।

खनालका अनुसार यो निर्वाचन उनको अन्तिम चुनावी लडाइँ हो। उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको उनको भनाइ छ। उनले भने, ‘मसँग अनुभव छ, देश बनाउने योजना छ। त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्‍याउँछु।’ रासस

प्रकाशित: ३० कार्तिक २०७९ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =