तातोपानी नाका। फाइल तस्बिर
                                            काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणअगाडि आठ वर्षदेखि मानव आउजाउ हुन नपाएको तातोपानी नाका खुला हुने भएको छ। महाभूकम्प २०७२ पछि पहिलो पटक स्थाीय बासिन्दाहरू आउजाउ गर्न पाउने गरि खुला गर्न लागेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ।
महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरूसँगको बैठकले ८ वर्षपछि सो नाका तत्कालको लागि स्थानीयकै लागि भए पनि मानव आवतजावत खुला गर्ने निर्णय भएको हो। नाका शुक्रबारदेखि नै खुला हुनेछ। सेप्टेम्बर १ देखि नाका खोल्ने सहमतिअनुसार भोलिबाट नाका खोल्न लागिएको महावाणिज्य दूतावासले जनाएको छ।
समझादारीमा नाकाबाट यात्रुहरूको आवतजावत विस्तारै खुला गर्ने तर अहिलेको लागि स्थानीयमात्र आउजाउ गर्न पाउने भनिएको छ। तातोपानीको पारिपट्टी रहेको खासाको चिनियाँ बजारसम्म पुग्न स्थानीयका लागि तातोपानी स्थिर अध्यागमन कार्यालयले पास उपलब्ध गराउन थालेको छ। एकवर्षे पास पाएकाहरूले शुक्रबारदेखि चीनतर्फ प्रवेश पाउने छन्।
‘तत्कालको लागि खासा बजारसम्म पनि जान नदिने भन्ने छ। चिनियाँ बजारसम्म पुग्नेगरी पास जारी भइरहेको छ,’ भन्सार प्रमुख दयानन्द केसीले हिमालप्रेससँग भने, ‘२०७२ सालको भूकम्पछि पहिलो पटक मानव आवतजावतका लागि यो नाका खुला हुनु नै सकारात्मक हो। विस्तारै खासा बजारसम्म खुला होला।’
२०७२ सालको महाभूकम्प पछि तातोपानी नाका पूर्ण रुपमा ४ वर्ष बन्द भएर १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो। तर, कोभिड १९ को महामारीपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो। तर पनि कहिले खुल्ने कहिले बन्द हुने भए पनि मानव आउजाउमा भने पूर्णत रोक थियो।

                                             
                                             
                                             
                                             
                                             

