काठमाडौँ- पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले नेपाललाई कमजोर विपक्षीका रुपमा नलिने बताएका छन्। एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालको सामना गर्नुअघि घरेलु टिमका कप्तान आजमले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘हामी नेपालसँगको खेलका लागि केन्द्रित छौँ। नेपालसँग प्रतिभावान् खेलाडीको समूह छ। यसकारण नेपाललाई हामीले कमजोर मानेका छैनौँ। यो खेलमा हामी आफ्नो क्षमता अनुसारको खेल देखाउन प्रयास गर्नेछौँ,’ आजमले मंगलबारको ‘प्रिम्याच कन्फ्रेन्स’ मा भने।
एसिया कप बुधबार साँझबाट सुरु हुँदैछ। पंजाबको मुल्तान क्रिकेट रंगशालामा बलियो पाकिस्तानलाई पहिलो पटक एसिया कपमा छानिएको नेपालले चुनौती पेस गर्दैछ।
गत अप्रिलमा घरेलु मैदानमा एसीसी प्रिमियर कप जितेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो। प्रिमियर कपमा आफ्नै स्तरका ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता टिमलाई पन्छाएको नेपाल एसिया कपको समूह चरणमा पाकिस्तानबाहेक भारतसँग पनि भिड्दैछ। यी तीन टिम समूह ‘ए’ मा छन्।
‘हामी पहिलो पटक एसिया कप खेल्दैछौँ। यो हाम्रा लागि ठूलो अवसर हो। हामी पाकिस्तान र भारत दुवै टिमलाई बलियो चुनौती दिन चाहन्छौँ,’ नेपालका कप्तान रोहित पौडेलले भने।
रोहितले आफ्नो टिम एसिया कप खेल्न हकदार भएको पनि बताए। ‘मलाई लाग्छ हामी यो सफलताको हकदार हौँ। यहाँसम्म आइपुग्न हामीले कठिन मेहनत गरेका छौँ,’ रोहितले भने, ‘नेपालले क्रिकेट खेल्न थालेको दुई दशकभन्दा बढी भयो। पाकिस्तान र भारतसँग खेल्न लागेको यो पहिलो पटक हो। यस्ता बलिया टिमसँग खेलेको अनुभव हामीलाई भविष्यका लागि काम लाग्नेछ।’
पाकिस्तान हाल एकदिवसीय वरीयतामा शीर्षस्थानमा रहेको टिम हो। तथापि सन्दिप लामिछाने नेतृत्वको बलिङ विभागले पाकिस्तानलाई दुःख दिने अपेक्षा नेपाली टिमले गरेको छ। भलै पाकिस्तानसँग एकदिवसीय क्रिकेटमा सर्वाधिक बलियो लयमा रहेका ब्याट्सम्यान आजम छन्। वरीयताको शीर्ष पाँचभित्र रहेका इमाम उल हक र फकार जमान पनि नेपालविरुद्ध खेल्नेछन्।
सँगसँगै पाकिस्तानका विश्वस्तरीय बलर शाहिन शाह अफ्रिदी, हरिक राउफ र नसिम शाहले कम अनुभवी नेपाली ब्याट्सम्यानहरुको परीक्षा लिनेछन्।
६ टिम सहभागी एसिया कपका चार खेल मात्र पाकिस्तानमा हुनेछन्। पहिलो खेल मुल्तानमा सकिएपछि बाँकी तीन खेल पंजाबकै लाहोरमा खेलाइनेछ। भारतसँग खेल्न नेपाल र पाकिस्तान श्रीलंका जानेछन्। भारतसँगका दुई खेल श्रीलंकाली सहर क्यान्डीको पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुनेछन्।
एसिया कपको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। अफगानिस्तानले आफ्ना दुवै खेल लाहोरमा खेल्नेछ। श्रीलंका र बंगलादेशबीचको भिडन्त भने क्यान्डीमा हुनेछ।
दुई समूहबाट शीर्ष दुई दुई टिम सुपर फोरमा पुग्नेछन्। सुपर फोरका कुल ६ खेलमध्ये एक खेल लाहोरमा हुनेछ भने बाँकी खेल श्रीलंकाकै कोलोम्बोमा खेलाइनेछन्। सेप्टेम्बर १७ मा हुने तय भएको फाइनल पनि कोलोम्बोमै आयोजना गरिनेछ। एसिया कपको एकल आयोजक पाकिस्तान भए पनि भारत त्यता नजाने भएपछि धेरैजसो खेल श्रीलंकामा सारिएको हो।
राजनीतिक कारणले भारत पाकिस्तान जान नमानेको हो। सबै खेल पाकिस्तानमा हुने भए एसिया कप भब्य हुने आजमको भनाइ थियो। ‘दुःख लागेको छ। सबै खेल पाकिस्तानमा हुँदा माहोल फरक हुन्थ्यो। दुर्भाग्यवश धेरैजसो खेल श्रीलंकामा हुने भयो। आइपरेको परिस्थितिलाई स्वीकार गर्नु बाहेकको विकल्प हामीसँग छैन। यसकारण जे जस्तो तालिका भए पनि हामी खेल्न तयार छौँ,’ आजमले भनेका छन्।


