प्रधानमन्त्रीको चीन भ्रमण : अन्तर्राष्ट्रिय उडान र कोरला नाका खुलाउन पोखराका व्यवसायीको माग

हिमाल प्रेस ११ भदौ २०८० २०:२०
8
SHARES
प्रधानमन्त्रीको चीन भ्रमण : अन्तर्राष्ट्रिय उडान र कोरला नाका खुलाउन पोखराका व्यवसायीको माग

पोखरा- पोखराका व्यवसायीले तत्काल अन्तर्राष्ट्रिय उडानसँगै कोरला नाका खुलाउन माग गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्नमा चीन भ्रमणमा गण्डकी प्रदेशका एजेण्डा उठाउनेबारे सोमबार गरिएको छलफलमार्फत यहाँका व्यवसायीले उक्त माग गरेका हुन्।

प्रचण्ड आगामी ४ असोजमा चीन भ्रमणमा जाँदैछन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको संयोजकत्वमा भएको छलफलमा पोखराका उद्योग व्यवसायी, पर्यटन व्यवसायी र सञ्चारकर्मीले भाग लिएका थिए।

सो अवसरमा चीन सरकारको ऋणमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल अन्तर्राष्ट्रियस्तरको उडान सञ्चालनसँगै ऋणलाई सकेसम्म अनुदानमा परिणत गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए।

चीन-पोखराको छोटो दुरीको रूपमा रहेको पोखरा-छेन्दु, पोखरा-कुनमिन, पोखरा-हङकङ उडानलाई राख्न उनीहरूको आग्रह छ। गण्डकी प्रदेशको विकासको लागि तातोपानी, केरुङमा एक सय कन्टेनर नअटाउने हुँदा कोरला नाकामा एक हजारसम्म कन्टेनर अट्ने क्षमता रहेको र त्यसलाई व्यापारिक नाकाका रूपमा परिणत गर्नुपर्ने विषयलाई एजेण्डामा राख्न आग्रह गरिएको छ।

कागबेनी डोल्पा बाटो पुग्न लागेको हुँदा कर्णाली प्रदेशले पनि कोराला नाकाबाट लाभ प्राप्त गर्न सकिने बताइएको छ। ३० किमीभित्र सीमा क्षेत्रमा वर्षको दुईपटक मेलाको सुरुवातले पनि पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ।

आरुघाट-छेकम्पार गोरखा, काङवाङदेखि छेकम्पारसम्म बाटो ल्याउने विषयलाई जोड दिनुपर्ने र रुभी भ्यालीको प्राकृतिक सुन्दरतालाई कायम राख्दै पर्यटकहरू हेलिकप्टरबाट जाने गर्दछन्।
केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर भइसकेको हुँदा पोखरामा पनि डीपीआर गराउन माग गर्ने भएको छ।

साथै, ७२ किमी लामो पोखरा चक्रपथ बनाउन चीन इच्छुक रहेको हुँदा पोखरालाई केन्द्रबिन्दु बनाएर काम गर्न चीन सरकारलाई आग्रह गर्न एजेण्डामा राख्नुपर्ने पोखरेली व्यवसायीहरूले माग गरेका छन्।

पोखरामा अन्तर्राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउन आग्रह गर्दै पोखरालाई चीनले पर्यटकीय गन्तव्यस्थल बनाउन जोड दिए। चीनको छविलाई हितमा राखी चिनियाँ ठेकेदारले पोखरा-मुग्लिङ सडक निर्माणमा ढिलाइ गर्दा जनताले सास्ती भोग्नुपरेको कारण छिटो छरितो सडकको निर्माण कार्य सम्पन्न गर्न एजेण्डामा सामेल गर्न आग्रह गर्ने बताइएको छ।

पोखरामा महावाणिज्य दूतावास खोल्न आग्रह गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको छ। छलफलमा पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवन प्रजापति, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, युवा उद्योगी माइकल कर्माचार्य, लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी, पोखरा पर्यटन परिषद् महासचिव सञ्जयकान्त सिग्देल, पोखरा उद्योग वाणिज्य संघ प्रथम उपाध्यक्ष उत्तममान बुद्धाचार्यलगायतले चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्डले गण्डकी प्रदेशको हितका निम्ति विभिन्न एजेण्डा उठाउनुपर्ने बताए।

प्रकाशित: ११ भदौ २०८० २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =