बजेट नहुँदा कालोपत्रे हुन सकेन तल्लु-दुनै सडक खण्ड

हिमाल प्रेस ११ भदौ २०८० १५:५१ | Monday, August 28, 2023
बजेट नहुँदा कालोपत्रे हुन सकेन तल्लु-दुनै सडक खण्ड

जाजरकोट- भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्मको सडक बजेट अभावका कारण कालोपत्रे हुन सकेको छैन।

यसअन्तर्गत ६२ किलोमिटर सडक खण्ड कालोपत्रेका लागि स्रोत सुनिश्चित गर्न माग गरिए पनि अर्थ मन्त्रालयले सहमति नदिँदा काम रोकिएको भेरी करिडोर सडक आयोजना कार्यालयले जानकारी दिएको छ।

गत आर्थिक वर्ष नै कालोपत्रेका लागि रकम माग गरिए पनि अर्थ मन्त्रालयले हालसम्म सहमति दिएको छैन। आयोजनाका प्रमुख सुजन अधिकारीका अनुसार ११८ किलोमिटर सडकमध्ये ५६ किलोमिटरमा कालोपत्रेको काम जारी छ।
जाजरकोटको पासागाडदेखि तल्लुसम्म कालोपत्रेको काम यति विल्ड्रस प्रालिले गरिरहेको छ। बाँकी ६२ किमी सडकको काम भने बजेट नहुँदा अगाडि बढेको छैन।

तल्लुबाट त्रिपुराकोटसम्म काम सम्पन्न भए मात्रै यस सडकखण्डले पूर्णता पाउँछ। कच्ची सडक र पुल नहुँदा यात्रा गर्न सास्ती छ। दुनैसम्म अहिले कच्ची सडक भए पनि सोभन्दा माथि उपल्लो डोल्पामा भने सडक सञ्जाल पुगेको छैन।

भेरी करिडोरले बाँकेको नेपालगञ्ज, सुर्खेत, सल्यानको सल्लीबजार, जाजरकोट, रुकुम पश्चिम, डोल्पा तथा चीनको सिमाना क्याटो–मरिम्लालाई जोड्छ। सरकारले यसलाई प्राथमिकता राखी त्रिदेशीय सडकका रूपमा विकास गरे चीनसँगको व्यापारमा समेत सहजता आउने जानकारहरूको भनाइ छ।

भेरी करिडोरको चुँगाड, रिजिगाड, उसुमखोला, करवगाड, खदाङ र मैदे खोलामा पक्की पुल आवश्यक छ। पुलका लागि पनि स्रोत सुनिश्चित भएको छैन। झिमिखोला, नलगाड, करवगाड, खदाङ, त्रिपुराकोटमा अस्थायी बेलिब्रिज निर्माण गरी यातायातका साधन सञ्चालनमा भइरहेका छन्।

-रासस

प्रकाशित: ११ भदौ २०८० १५:५१ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast