बाँदरले आतंक मच्चाएको क्षेत्रमा बेसार खेती

हिमाल प्रेस ८ भदौ २०८० २१:४१
20
SHARES
बाँदरले आतंक मच्चाएको क्षेत्रमा बेसार खेती

तनहुँ- कृषि ज्ञान केन्द्रले बाँदरको आत‌ंक भएका क्षेत्रमा वैकल्पिक बालीका रूपमा बेसार खेतीलाई प्राथमिकता दिएको छ। बाँदरले अन्नबाली र फलफूल खाएर सताएका क्षेत्रमा कृषकलाई वैकल्पिक खेतीका रुपमा बेसार खेतीलाई प्रवर्द्धन गर्न प्रोत्साहन गरिएको हो।

व्यास नगरपालिका–८ सोतिबेसीका २० कृषकहरूले दुई सय रोपनी क्षेत्रफलमा बेसार खेती गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।

कृषकलाई ८५ प्रतिशत अनुदानमा चार लाख बजेट विनियोजन गरिएको उनले बताए। उनका अनुसार यस वर्ष परीक्षणका रूपमा खेती सुरु गरेकाले आउँदा वर्षमा क्षेत्र विस्तार गर्दै लैजाने योजना रहेको छ।

कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बेसारको बीउ खरिदका साथै कृषकहरूले बेसार राखेर उमाल्ने ड्रम, कुटनीपिसानी गर्ने मेसिन, प्याक गर्ने मेसिन लगायतका सामग्रीसमेत खरिद गरिसकेका छन्।

समूहमा आबद्ध सदस्यहरूले बेसार लगाउने, गोडमेल गर्नेदेखि बेसार उत्पादनपश्चात् धोइपखाली गरी उमाल्ने, कुटनीपिसानी गरेर लेबल टाँस गरी जैविक रुपमा बिक्री गर्ने छन्।

नगरपालिका कार्यालयले व्यास–३ अनसन चौतारी नजिक निर्माण गरेको कक्षमा ल्याएर कृषकले बिक्री गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ। उत्पादित वस्तुलाई स्थानीय, प्रदेश र संघीय गरी तीनवटै सरकारको सहयोगमा प्याक गरेर बाह्य देशमा निर्यात गर्न सकेको अवस्थामा कृषकहरूको आयआर्जनमा सुधार हुने जनाइएको छ।

कार्यालयले कृषकलाई जग्गा बाँझो नराख्न र आयआर्जन गरी आत्मनिर्भर बनाउन बेसार खेती प्रवद्र्धन कार्यलाई प्राथमिकता दिएको हो। उत्पादन भएका वस्तु स्थानीय बजारमा बिकेन भने पनि तीनवटै तहका सरकारले सहजीकरण गरी बिक्री वितरण कार्यमा सहयोग गरेको अवस्थामा कार्यक्रम अझ प्रभावकारी हुन सक्ने उनले बताए।

त्यसै गरी व्यास–१३ मा ६० रोपनी क्षेत्रफलमा २० क्विन्टल बेसारको बीउ लगाइएको छ। कृषि ज्ञान केन्द्रको ८५ प्रतिशत अनुदानमा बेसार पिस्ने मेसिनसहित २ लाख ५० हजार विनियोजन गरेको दोभान जैविक कृषि सहकारीका सेयर सदस्य यामबहादुर आलेले जानकारी दिए।

बेसार लगाएको तीन महिनासम्म पानी नपरेर खडेरी पर्दा पनि राम्रोसँग उम्रिएर अहिले बोट हेर्न लायकका बनेकाले उत्पादन पनि राम्रै हुने अपेक्षा गरिएको उनले बताए। रासस

प्रकाशित: ८ भदौ २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =