रसुवा बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाद्वारा ४० लाख सहयोग 

हिमाल प्रेस ११ भदौ २०८३ १७:२४ | Thursday, August 27, 2026
रसुवा बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाद्वारा ४० लाख सहयोग 

बुटवल- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ।

नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहिबार बसेको बैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने तथा नगरका जनप्रतिनिधि र कर्मचारीको तीन दिनको सुविधा तथा पारिश्रमिक बराबरको करिब १५ लाख गरी कूल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकपछि तिलोत्तमा नगरपालिकाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको उद्धार, राहत र सुरक्षित पुनर्मिलनका लागि सहयोग गर्ने निर्णय गरिएको हो।

नगर प्रमुख रामकृष्ण खाणले विपद्‌मा परेका नागरिकलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्नु आवश्यक रहेकाले उद्धार, राहत र पुनर्स्थापनाका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गरिएको बताए।

उपप्रमुख जगेश्वरदेवी चौधरीले विपद्का बेला राहत र उद्धारलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा नागरिकबीच सहकार्य आवश्यक रहेको बताइन्।

भविष्यमा यस्ता प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने नगरपालिकाले जनाएको छ।

त्यसका लागि पूर्वसूचना प्रणाली, प्रविधिको प्रयोग, जोखिमयुक्त क्षेत्रको पहिचान तथा समुदायस्तरमा विपद् सचेतना अभिवृद्धिमा जोड दिने विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै विपद्को पूर्वतयारी र जोखिम न्यूनीकरणमा सबै पक्षको ध्यानाकर्षण गराएको छ।

शोकलाई शक्तिमा, पीडालाई सहकार्यमा र विपद्लाई सुरक्षित भविष्य निर्माणको अवसरमा रूपान्तरण गर्न नेपालीबीच एकता, सहयोग र सहकार्यको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिएको छ।

भदौ १० गते बुधबार बिहान करिब ९:१५ बजे रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।

नगरपालिकाले विपद्को पीडा प्रभावित परिवारको मात्र नभई सम्पूर्ण राष्ट्र र नेपाली समाजकै साझा पीडा भएको भन्दै स्थानीय सरकारका रूपमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनु आफ्नो मानवीय तथा सामाजिक दायित्व भएको जनाएको विपद् व्यवस्थापन समितिका संयोजक एव्म कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए।

प्रकाशित: ११ भदौ २०८३ १७:२४ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast